राप्रपामा ‘अर्ली अधिवेशन’ को बाटो खुल्यो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ‘अर्ली अधिवेशन’ तिर उन्मुख भएको छ । आइतबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले जिल्ला अधिवेशन कार्यविधि, २०८१ संशोधनसहित पारित गरेको छ । यो कार्यविधि संशोधनसँगै पार्टीमा अर्ली अधिवेशनको बाटो खुलेको हो ।

आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले स्थानीय तहको आगामी निर्वाचनलगायतका निर्वाचनहरूलाई ध्यान दिई पार्टीको सबै तहको निर्वाचन छिटो गर्ने निर्णय गरेको हो । यसअघि बसेको राप्रपा केन्द्रीय समितिको बैठकले आगामी २०८२ वैशाखभित्र सबै जिल्लाको जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो ।

अधिवेशनको कार्यविधिमा वडा तहदेखि जिल्ला तहको अधिवेशन गर्न निर्वाचन तालिकासमेत समावेश गरिएको छ । बैठकले केन्द्रीय निर्वाचन समिति ९ सदस्यीय रहने निर्णय गरेको छ । यस्तै जिल्ला निर्वाचन समितिको संयोजक जिल्ला कार्यसमितिको सिफारिसमा केन्द्रीय निर्वाचन समितिले तोक्ने निर्णय पनि गरिएको छ ।

राप्रपा विधानअनुसार चार वर्षको अन्तरालमा अधिवेशन हुन्छ । २०७८ मंसिरमा राप्रपाले केन्द्रीय महाधिवेशन गरेको थियो । साथै विधानमा विशेष परिस्थितिमा एक वर्ष म्याद थप गर्ने व्यवस्था छ ।

त्यसअनुसार राप्रपाले २०८३ मा केन्द्रीय महाधिवेशन गर्नेछ । त्यसअघि जिल्ला अधिवेशन २०८२ वैशाखभित्रै सबै जिल्ला अधिवेशन सक्ने तयारीमा राप्रपा छ ।

स्थानीय तहको आगामी निर्वाचनभन्दा अघि नै जिल्ला अधिवेशनलगायत मातहत अधिवेशन गरेर संगठनलाई चुस्तदुरूस्त गर्न लागिएको पार्टीले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *