३० लाखमा किनेको बुद्धको सुनको मूर्ति नक्कली परेपछि…

नक्कली मूर्ति देखाई ठगी गर्ने ५ जना पक्राउ परेका छन् । काठमाडौंको मनोहरामा सोफा पसल गर्दै आएका ३१ वर्षीय दिनेश न्यौपानेलाई बुद्धको सुनको मूर्ति दिने भन्दै ३० लाख ठगी भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा भारतको उडिसा घर भई हाल काठमाडौंको कमलपोखरी बस्ने ४० वर्षीय कलाकार दास, म्याग्दी घर भएका ललितपुरको धोबीघाट बस्ने ६४ वर्षीय क्षेत्रबहादुर शाही, धादिङ घर भई डल्लु बस्ने ३८ वर्षीय दीपक थापा, दाङ घर भई लाजिम्पाट बस्ने ३५ वर्षीय बसन्त चौधरी र काठमाडौं चौमती बस्ने ५५ वर्षीय रविन महर्जन छन् ।

कलाकार दासले आफूसँग सुनबाट बनाइएको मूर्ति रहेको भन्दै प्रलोभनमा पारेर न्यौपानेबाट ३० लाख ठगी गरेको पाइएको काठमाडौं प्रहरीका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।

‘मूर्तिमा ७ किलो सुन प्रयोग गरिएको भनेर रकम लिएका रहेछन् । पछि सुन प्रयोग नभएको र मूर्ति नक्कली पाइएपछि पीडितले दिएको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो,’ उनले पर्दाफासलाई बताए ।

अन्य पक्राउ परेकाहरुले मूर्तिको मार्केटिङको काम गर्दै आएका थिए । प्रहरीले दासको साथबाट १४ लाख रकम पनि बरामद गरेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर