उत्तरी गाजामा भिडन्त जारी, हजारौं विस्थापित

इजरायली सैन्य अभियानको तेस्रो दिन उत्तरी गाजामा विस्फोट, हवाई आक्रमण र बन्दुकको गोलाबारीले दशौं हजार प्यालेस्टिनीलाई विस्थापित गरेको छ। संयुक्त राष्ट्रसङ्घका अनुसार यस क्षेत्रमा रहनसहनको अवस्था जटिल बनेको छ।

एएफपीका एक संवाददाताले गाजा शहर नजिकैको शुजैया क्षेत्रमा व्यापक हवाई आक्रमण र विस्फोट भएको बताए। एक स्थानीयले सडकमा शवहरू देखिएको बताएका छन्।

हमास र प्यालेस्टिनी लडाकु समूह इस्लामिक जिहाद दुवैका सशस्त्र शाखाले इजरायली सेनासँग जारी लडाइँमा संलग्न रहेको बताएका छन्।

इजरायली सेनाले शुजैयामा जमिनमाथि र तल भएको भिडन्तमा ठूलो सङ्ख्यामा लडाकुको मृत्यु भएको जनाएको छ।

दर्जनौं आतङ्ककारी मारिएको र हतियार, ड्रोन र अवलोकन चौकीका साथै लामो दूरीको रकेट लञ्चर र टनेल शाफ्ट फेला परेको सेनाले जनाएको छ।

शनिबार उत्तरी गाजामा भएको भिडन्तमा दुई सैनिकको मृत्यु हुनुका साथै दुई जना गम्भीर घाइते भएको सेनाले जनाएको छ।

इजरायलले उत्तरमा हमास लडाकुको कमाण्ड संरचना ध्वस्त भएको घोषणा गरेको केही महिनापछि यस क्षेत्रमा लडाइँ केही मत्थर भएको छ।

गत आइतबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले युद्धको तीव्र चरण करिब नौ महिनापछि अन्त्य हुन लागेको बताएका थिए।

गाजा द्वन्द्वका कारण लेबनानसँग जोडिएको इजरायलको उत्तरी सीमामा पनि तनाव बढेको छ। यसका कारण इरानले शनिबार इजरायलले लेबनानमाथि आक्रमण गरेमा ‘नामेट पार्ने’ युद्ध हुने चेतावनी दिएको छ।

अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा गरेको आक्रमणमा परी एक हजार २०० भन्दा बढीको मृत्यु भएको एएफपीले इजरायली तथ्याङ्कलाई उद्धृत गरी उल्लेख गरेको छ।

लडाकुले गाजामा रहेका ११६ जना बन्धकहरूलाई पनि कब्जामा लिएका छन्, यद्यपि सेनाले ४२ जनाको मृत्यु भएको बताएको छ।

हमास शासित गाजाको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार इजरायलले गरेको जवाफी कारबाहीमा कम्तीमा ३७ हजार ८३४ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर