
आगामी वर्षका लागि चलचित्र क्षेत्रले स्विकार्ने बजेट तथा कार्यक्रम ल्याउँछु : भुवन केसी


चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले आगामी वर्षका लागि चलचित्र क्षेत्रले स्विकार्ने बजेट तथा कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएका छन् ।
आइतबार बोर्डको २४ औं वाषिकोत्सव समारोहमा बोल्दै उनले आफू बोर्डको नेतृत्वमा अन्तिम चरणमा रहेको भन्दै बोर्डमा नरहे पनि नेपाली चलचित्र क्षेत्रको हकहितका लागि सदैव समर्पित रहने बताए । उनले चलचित्र ऐन छिटोभन्दा छिटो पारित गर्न आग्रह गरे ।
‘म बोर्डको नेतृत्वको अन्तिम चरणमा छु, म बोर्डमा नरहे पनि नेपाली चलचित्र क्षेत्रको हकहितका लागि सदैव समर्पित रहने नै छु,’ अध्यक्ष केसीले भने, ‘आगामी वर्षका लागि चलचित्र क्षेत्रले स्विकार्ने बजेट तथा कार्यक्रम ल्याउने प्रयत्न गर्नेछु । चलचित्र ऐन मन्त्रीज्यू र सचिवज्यूकै पालामा पास हुन्छ भन्नेमा म विश्वस्त छु ।’
उनले आफ्नो कार्यकालमा बोर्डले प्रविधिलाई सँगै लिएर गएको बताए । उनले चलचित्रकर्मीहरूको क्यूआर कोड निर्माण, वाकिटकीको प्रयोग, सञ्चार तथा सूचना प्रविधिको प्रयोगलाई प्रोत्साहित गरेको र चलचित्र छायांकन स्टुडियो निर्माण प्रक्रिया अघि बढेको बताए । आफ्नो कार्यकालमा चलचित्रकर्मीहरूको अभिलेख राख्ने कार्य सुरू गरेको र बक्स अफिस प्रणालीको स्तरोन्नति गरिएको उनले बताए ।
अध्यक्ष केसीले चलचित्र ऐनको मस्यौदा मन्त्रालय पठाइसकेको पनि जानकारी दिए ।
प्रतिक्रिया