व्यावसायिक घुम्ती कोष सञ्चालन गर्दै कृषि विश्वविद्यालय

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको अनुसन्धान तथा प्रसारण निर्देशनालयले विश्वविद्यालय व्यावसायिक केन्द्र सञ्चालन गर्ने भएको छ । यो केन्द्रले व्यवसाय सञ्चालनका लागि घुम्ती कोष परिचालन गर्न लागेको हो ।

निर्देशनालयका निर्देशक डा.ऋषिराम कट्टेलका अनुसार विश्वविद्यालय अनुदान आयोगको सहयोगमा कोष सञ्चालनमा ल्याइने छ । सुरुमा आयोगले रु दुई करोड उपलब्ध गराउने छ भने क्रमशः बजेट थप गर्दै लगिने छ । यसका लागि स्नातक वा सोभन्दा माथि पढ्दै गरेका विद्यार्थी, प्राध्यापक र प्राविधिक कर्मचारीको समूह बन्ने छ ।  सो समूहलाई प्रस्तावका आधारमा रु २० देखि ४० लाख रकम तीन वर्षका लागि बिना ब्याजमा उपलब्ध गराइने छ ।

निर्देशनालयले अगामी साउनको अन्तिमसम्ममा प्रस्ताव माग्ने तयारी गरेको छ । सुरुमा चार/पाँच वटा प्रस्ताव मागेर कार्यक्रम अघि बढाउने तयारी गरिएको छ । समूह छनोट भएसँगै उनीहरूलाई तालिम दिएर काम अघि बढाइने छ । समूहहरूले रकम फिर्ता गर्न थालेपछि सो रकम र अरु थप रकम गरी समूहको सङ्ख्या थपिँदै लगिने छ ।

कृषि, पशु, भेटेनरी, माछालगायतको उत्पादन र बजारीकरणसम्बन्धी प्रस्ताव आह्वान गरिने छ । बीउ उत्पादन, बिरुवा उत्पादन, कीरा मार्न उत्पादन हुने कीरा, हाइटेक नर्सरीजस्ता परियोजनामा लगानी गरिँदै छ ।  विश्वविद्यालय स्थापना हुँदै गर्दा पठनपाठनसँगै अनुसन्धान र प्रसारको कामसमेत गर्ने उल्लेख भएकाले सोहीअनुरूप यो कार्यक्रम अघि बढाइएको कट्टेलले जानकारी दिए ।

विद्यार्थीलाई व्यावसायिक रूपमा अघि बढ्न र विदेश जानबाट रोक्न यो परियोजना प्रभावकारी हुने देखिएको छ । पन्ध्र वर्षअघि स्थापना भएको यस विश्वविद्यालयमा चार हजार बढी विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर