बाइडेन भर्सेज ट्रम्प : अमेरिकी चुनावले रुस, चीन, भारतजस्ता देशलाई के प्रभाव पर्छ ?

अमेरिकामा यही वर्षको ६ नोभेम्बरमा राष्ट्रपतिका लागि चुनाव हुँदै छ । राष्ट्रपतिको उम्मेदवारमा डेमोक्रेट नेता तथा हालका राष्ट्रपति जो बाइडेन र उनका रिपब्लिकन प्रतिस्पर्धी तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प छन् ।

अमेरिकी जनताले आफ्नो राष्ट्रपति चयन गर्दा सारा विश्वको नजर त्यही चुनावमा केन्द्रित हुनेछ । अमेरिकी विदेश नीति र ह्वाइट हाउसका कार्यहरूले विश्वका विभिन्न भागहरूलाई असर गर्छ ।
गत बिहीबार बाइडेन र ट्रम्पबीच राष्ट्रपति चुनावको पहिलो बहस भइसकेको छ । अब निर्वाचित हुने राष्ट्रपतिका कारण विश्वका अन्य शक्तिशाली र महत्वपूर्ण देशहरुसँग अमेरिकाको सम्बन्ध कस्तो हुनेछ त ?

खासै परिवर्तनको आशा छैन : भारत

अमेरिकाको नजरमा भारतको भूमिका महत्वपूर्ण छ । अमेरिकाले भारतलाई भूराजनीतिक रूपमा चीनको विकल्प वा समकक्षको रूपमा हेर्छ । भारत विश्वको पाँचौं ठूलो अर्थतन्त्र भएको देश पनि हो । भारतले सन् २०३० सम्ममा विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको देश बन्ने लक्ष्य पनि राखेको छ ।

भारतमा भर्खरै भएको आम निर्वाचनपछि नरेन्द्र मोदी तेस्रो पटक भारतको प्रधानमन्त्री बनेका छन् । बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भए पनि भारत र अमेरिकाबीचको सम्बन्ध अहिलेको जस्तै कायम रहनेछ । यसको मतलब दुई देशबीचको आपसी व्यापार सम्बन्ध ट्रयाकमा रहनेछ ।

गत वर्ष प्रधानमन्त्री नरेन्द्र मोदीलाई उनको आधिकारिक अमेरिका भ्रमणको क्रममा रातो कार्पेटमा स्वागत गरिएको थियो । मोदीले अमेरिकी कांग्रेसको संयुक्त बैठकलाई सम्बोधन गर्ने मौका पाएका थिए ।

यसैबीच ट्रम्प अमेरिकाको राष्ट्रपतिमा पुनः निर्वाचित भए पनि भारत र अमेरिकाबीचको सम्बन्धमा खासै परिवर्तन आउने छैन । ट्रम्पले हालै मोदीको तारिफ गरेका छन् । सन् २०२० मा ट्रम्पले मोदीसँग गुजरातको भ्रमण गरेका थिए, जहाँ हजारौंले उनलाई स्वागत गरेका थिए । यस्तो अवस्थामा अमेरिकी चुनावको नतिजा जस्तोसुकै होस्, भारतको अवस्था लगभग उस्तै रहने छ भन्न सकिन्छ ।

कसलाई राष्ट्रपति चाहन्छ रुस ?

ट्रम्पले हालै युक्रेनलाई दिएको अमेरिकी सैन्य सहायताको आलोचना गरेका थिए । नाटो सदस्य राष्ट्र युक्रेनले रक्षा खर्चको प्रावधानलाई पालना नगरेको र रुस त्यो देशसँग जे चाहन्छ त्यो गर्ने अधिकार छ भन्ने ट्रम्पको भनाइ थियो ।

युक्रेनलाई साथ दिएका कारण हालका राष्ट्रपति बाइडेनलाई रुसले समर्थन गर्ने सम्भावना छ त ? तर, विश्वलाई बारम्बार चकित पार्ने पुटिनले बाइडेनलाई ह्वाइट हाउसमा हेर्न रुचाउने सार्वजनिक रुपमा नै बताएका छन् । बाइडेनका निर्णयहरुको भविष्यवाणी गर्न सजिलो हुने उनको भनाइ छ । तर, कतिपयले उनको यो भनाइलाई व्यंग्य पनि ठान्छन् ।

नाटो र युक्रेनलाई शंकाको दृष्टिले हेर्ने ट्रम्पबाट रुसले विशेष केही आशा गर्न सक्दैन। ट्रम्पको पहिलो कार्यकालमा पनि रुस निराश थियो । त्यतिबेला रुसी अधिकारीहरूले रुस–अमेरिका सम्बन्धमा सुधारको आशा गरेका थिए, यद्यपि यस दिशामा केही महत्वपूर्ण भएको देखिँदैन ।

ताइवानलाई लिएर अमेरिका र चीनबीचको मतभेद

बाइडेन र ट्रम्प दुवैको चीनप्रति कडा अडान छ । चीनबारे दुवै उम्मेदवारको आर्थिक नीति समान छ । दुवै नीतिहरूमा सस्तो चिनियाँ उत्पादनहरूमा शुल्क वृद्धि समावेश छ ।

तर चीनको क्षेत्रीय प्रभावलाई रोक्न दुवैको दृष्टिकोण फरक छ । बाइडेनले चीनको प्रभाव रहेको क्षेत्रमा आफ्नो सम्बन्ध बलियो बनाएका छन् । जबकि राष्ट्रपति हुँदा ट्रम्पले ‘बेस्ट डिल’को नीति अपनाएका थिए ।

बाइडेन र ट्रम्प बीचको सबैभन्दा ठूलो भिन्नता ताइवानको बारेमा हो । धेरै अवसरहरूमा, बाइडेनले चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवानलाई चीनसँग विलय गर्ने कुनै पनि प्रयासको सामना गर्दा ताइवानको समर्थनको आश्वासन दिएका छन् । बाइडेनले आवश्यक परे यसका लागि बल प्रयोग गर्ने पनि बताएका छन् ।

तर अर्कोतर्फ ट्रम्पले ताइवानले अमेरिकी व्यवसायलाई कमजोर बनाएको आरोप लगाएका छन् र ताइवानलाई सहयोग गर्ने अमेरिकी विधेयकको विरोध गरेका छन् । ट्रम्पको यो कदमपछि धेरैले प्रश्न उठाएका छन् कि आवश्यक परे ताइवानलाई सहयोग गर्न राजी हुने हो ?

युक्रेनको भविष्यको निर्धारण

अमेरिकी राष्ट्रपतीय निर्वाचनले युक्रेनमा सबैभन्दा बढी प्रभाव पार्नेछ । युक्रेन युद्धमा पैसा र हतियारको हिसाबले अमेरिकी सहयोग कत्तिको महत्वपूर्ण छ भन्ने सबैलाई थाहा छ ।
ट्रम्प युद्ध अन्त्य गर्ने र युक्रेनलाई सहयोग घटाउने पक्षमा छन् । कतिपयलाई ट्रम्पले युक्रेनलाई मन नपर्ने सम्झौता गर्न बाध्य पार्ने डर पनि छ ।

तर, बाइडेनले जिते पनि युक्रेनको कठिनाइ कम हुने छैन । अमेरिकी कंग्रेसले युक्रेनका लागि पछिल्लो सहायता प्याकेज पारित गर्न लागेको लामो समयबाट पनि यो स्पष्ट हुन्छ । तर यस चुनावमा युक्रेनको भूमिका दर्शकको मात्रै हो ।

बेलायतलाई के छ चिन्ता ?

बेलायती सरकारले अमेरिकी चुनावलाई केही आशंकाका साथ हेरिरहेको छ ।
के ट्रम्पको ह्वाइट हाउसमा फिर्ताले युक्रेनका लागि अमेरिकी सैन्य समर्थनलाई कमजोर बनाउने र अमेरिकालाई भ्लादिमिर पुटिनको नजिक ल्याउनेछ ? के तिनीहरूले चीनसँग व्यापार युद्ध सुरु गर्नेछन् ?

के राष्ट्रपति बाइडेनले दोस्रो कार्यकाल पाए भने अमेरिकामा अलगाववाद र संरक्षणवाद बढाउनेछन् ? के उनी आगामी चार वर्षसम्म यो भूमिकाका लागि शारीरिक रूपमा तयार छन् ?
अमेरिकी चुनाव र दुवै उम्मेदवारसँग सम्बन्धित यी केही प्रश्न हुन्, जसलाई लिएर बेलायत चिन्तित छ ।

इजरायलको समर्थन कसलाई ?

अमेरिकी राष्ट्रपतिको चुनावको ठूलो असर मध्यपूर्व एसियामा पनि पर्नेछ । हमास विद्रोहीले गत अक्टोबर ७ मा गरेको आक्रमणपछि अमेरिकी राष्ट्रपति बाइडेनले इजरायललाई बलियो साथ दिएका छन् ।

सशस्त्र द्वन्द्व र ठूलो संख्यामा प्यालेस्टिनी नागरिकको हत्याको मुखर आलोचक भए पनि बिडेनले इजरायललाई सैन्य हतियारको आपूर्ति जारी राखे । अधिकांश इजरायलीहरू बाइडेनको युद्ध नीतिसँग सहमत छैनन् जस्तो देखिन्छ, जबकि प्यालेस्टिनीहरू बाइडेनले उनीहरूको समस्यालाई बेवास्ता गरेको बताउँछन् ।

ट्रम्पले गाजा युद्धको समर्थन गरेका छन् तर इजरायललाई यो युद्धबाट छिट्टै बाहिर निस्कन पनि अपील गरेका छन् । उनका अनुसार यसबाट इजरायलको छविमा चोट पुगेको छ ।

राष्ट्रपतिमा निर्वाचित भएपछि ट्रम्पले प्यालेस्टाइनलाई दिइने अमेरिकी सहयोग रोक्ने घोषणा गरेका छन् । ट्रम्पले स्वतन्त्र प्यालेस्टाइनको गठनमा प्रश्न उठाउँदै आएका छन् । त्यसैले पनि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु ट्रम्प ह्वाइट हाउस फर्केको हेर्न चाहन्छन् ।

मेक्सिकोविरुद्ध ट्रम्पको भड्काउ बयान

मेक्सिकोका जनताले हालै पहिलो पटक महिलालाई राष्ट्रपतिमा निर्वाचित गरेर इतिहास रचेका छन् । क्लाउडिया शेनबाउम देशको पहिलो महिला राष्ट्रपतिमा निर्वाचित भएकी छन् ।

उनका नजिकका सहयोगी र पूर्व राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले ट्रम्पको राष्ट्रपतिको समयमा अप्रत्याशित साझेदारी बनाएका थिए । एकपटक सत्तामा आएपछि शेनबाउमले आफू अघिल्लो सरकारको उत्तराधिकारी मात्र होइनन् भनेर प्रमाणित गर्नुपर्नेछ ।

अहिले बाइडेनसँग मेक्सिकोको सम्बन्ध कहिलेकाहीँ तनावपूर्ण भएको छ, तर दुई छिमेकी देशहरूले अध्यागमन र सीमापार व्यापार जस्ता महत्वपूर्ण क्षेत्रमा निरन्तर काम गरेका छन् ।

यद्यपि, मेक्सिकनहरूले ट्रम्पलाई नोस्टाल्जियाका साथ सम्झन्छन् । वास्तवमा, सन् २०१६ मा आफ्नो चुनावी अभियान सुरु गर्दा ट्रम्पले मेक्सिकन आप्रवासीहरूका लागि ‘ड्रग डिलर, अपराधी र बलात्कारी’ जस्ता शब्दहरू प्रयोग गरेका थिए । यो कुराले आज पनि यहाँ धेरैलाई सताएको छ ।

क्यानडालाई व्यापारको चिन्ता

अमेरिकाको उत्तरी छिमेकी क्यानडामा डोनाल्ड ट्रम्प दोस्रो पटक राष्ट्रपति बन्ने विषयमा केही चिन्ता छ । ट्रम्प क्यानडामा कहिल्यै चर्चित छैनन् । यस वर्षको सुरुमा एक सर्वेक्षणका क्रममा ट्रम्पको आगामी चार वर्षमा अमेरिकी लोकतन्त्र टिक्न नसक्ने कुरा पनि बाहिर आएको थियो ।

ट्रम्प पहिलो पटक राष्ट्रपति बनेपछि पनि अमेरिका र क्यानडाको सम्बन्धमा निकै दबाब थियो । यद्यपि, उत्तर अमेरिकी व्यापार सम्झौता सहित केही मुद्दाहरू क्यानाडाको पक्षमा थिए ।

चुनाव नजिकिँदै गर्दा, क्यानाडाको राजनीतिक र व्यापारिक वर्गहरू पहिले नै थप व्यापार उथलपुथलका लागि तयारी अवस्थामा छन् । व्यापार सम्झौताकासमीक्षा र आयातित सामानहरूमा विश्वव्यापी कर लगाउने ट्रम्पको अभियान दुवै क्यानडाका लागि चिन्ताको विषय बनेको छ ।

सन् २०२३ मा दुई देशबीच दैनिक करिब २ अर्ब ६ करोड डलर बराबरको व्यापार भएको थियो । एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर