सशस्त्रका असई थमन विक हत्या प्रकरणमा पूर्वप्रदेश सांसद यादव पक्राउ

सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन विक हत्या प्रकरणमा पूर्वप्रदेश सांसद कौशलकुमार यादव पक्राउ परेका छन् ।

घटनापछि फरार रहेका यादवलाई शनिबार राति महोत्तरीको साम्सी गाउँपालिका-५, पोखरीभण्डाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएको छ ।

पक्राउ परेका यादवलाई असई विक हत्या प्रकरणमा अदालतले जन्मकैदको सजाय सुनाएको थियो । उनलाई आइतबार महोत्तरी जिल्ला अदालतमा हाजिर गराइएको छ । पूर्वसांसद यादव लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेतासमेत हुन् । उनी २०७४ मा तत्कालीन संघीय समाजवादी फोरमबाट महोत्तरी क्षेत्र नं. ४ (क) मा प्रदेश सांसद निर्वाचित भएका थिए ।

२०७९ को निर्वाचनअघि जनता समाजवादी पार्टी (जसपा) ले पार्टीबाट निष्कासन गरेपछि उनले लोसपाबाट चुनाव लडेका थिए । तर, उनी पराजित भएका थिए । महोत्तरी जिल्ला अदालतले २८ मंसिरमा असई विक हत्या प्रकरणमा लोसपा मधेस प्रदेश संसदीय दलका नेता अभिराम शर्मासहित सात जनालाई जन्मकैदको सजाय सुनाएको थियो ।

एमाले प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरी र पुर्पक्षका लागि थुनामा रहेका पवन कापरले सफाइ पाएका थिए ।

मधेस आन्दोलनका क्रममा असई विकको हत्या भएको थियो । असई विक हत्या प्रकरणमा एमाले सांसद कोइरीसहित २८ जनाविरूद्ध २०७५ साल साउन २८ गते कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो ।

मधेस आन्दोलनका क्रममा २०७२ भदौ २५ गते हेटौंडाबाट राष्ट्रसंघीय मिसनका लागि आवश्यक परीक्षा दिएर ड्युटीका लागि महोत्तरी आएका असई विकमाथि महोत्तरीमा आन्दोलनकारीले आक्रमण गरेका थिए ।

घाइते विकको जलेश्वर अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि जनकपुर ल्याउँदै गर्दा महोत्तरीको साविक अनैठा गाविसमा आन्दोलनकारीले एम्बुलेन्सबाट निकालेर कुटपिट गरेर हत्या गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर