पहिरोले अवरूद्ध भयो गाईघाट-दिक्तेल सडक

उदयपुरको त्रियुगा नगरपालिका-१४ स्थित साउनेको हाडेथुम्कास्थित गाईघाट-दिक्तेल सडक गएराति खसेको पहिरोका कारण आज बिहानदेखि अवरूद्ध भएको छ ।

त्रियुगा-१४ का वडाध्यक्ष हेमराज मगरका अनुसार साउनेको गाईघाट-दिक्तेल सडकअन्तर्गत हाडेथुम्काको डाँडाबाट पहिरो खसेका कारण सडक पुरिएको हो । सडक अवरूद्ध हुँदा सदरमुकाम गाईघाट भएर खोटाङको दिक्तेललगायत पहाडी क्षेत्रतर्फ हिँडेका सवारी साधन रोकिएका छन् ।

यस्तै खोटाङबाट उदयपुरको गाईघाट हुँदै विराटनगर, धरान, इलाम धनकुट्टा हिँडेका सवारी साधन पनि बिहानदेखि सडक अवरूद्ध भएपछि रोकिएका छन् । उदयपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले अहिले अवरूद्ध सडक खुलाउनका लागि गाईघाट–दिक्तेल सडक कार्यालय र त्रियुगा नगरपालिकासँग समन्वय गर्ने कार्य भइरहेको बताए ।

नगर प्रमुख वसन्त बस्नेतका अनुसार पहिरो खसेको खबर पाउने बित्तिकै नगरपालिकाका प्राविधिक र डोजर अवरूद्ध सडक खुलाउन त्यसतर्फ परिचालन गरिसकिएको छ । आज बिहान ४ बजेतिर पहिरो खसेर सडक अवरूद्ध भएको स्थानीय ज्ञानेन्द्र मगरले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *