नक्कली भुटानी शरणार्थी प्रकरण : प्रतीकलाई बयान र झालाई म्याद थप गर्न अदालत लगिँदै

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै गरिएको ठगी प्रकरणमा पक्राउ परेका दुई अभियुक्तलाई आज अदालतमा पेस गरिँदै छ । प्रकरणमा शुक्रबार पक्राउ परेका प्रतीक थापा र बेचेन झालाई काठमाडौं जिल्ला अदालत पेस गर्न लागिएको हो । पक्राउ परेका थापालाई यसअघि पेस भएको अभियोगपत्रमा बयानका लागि र झालाई म्याद थपका लागि पेस गरिने भएको हो ।

शुक्रबार बौद्धबाट पक्राउ परेका प्रतीक पूर्वगृहमन्त्री एवं नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ का छोरा हुन् । यस प्रकरणमा गत वर्ष सरकारी वकिलको कार्यालय काठमाडौंले थापालाई फरार सूचीमै राखेर मुद्दा दर्ता गरेको थियो ।

रामबहादुर थापा गृहमन्त्री भएका बेला बिचौलिया र गृह मन्त्रालयकै कर्मचारीहरूसँग मिलेर प्रतीकले शरणार्थी प्रकरणमा रकम उठाएको खुलेको थियो ।

यस्तै उच्च राजनीतिक संलग्नताको अनुसन्धानका लागि झालाई पक्राउ गरिएको हो । झाले मन्त्रालय र राजनीतिक व्यक्तिहरूका बिचमा सम्बन्ध विकास गराएर घुस लिई बिचौलियाको काम गरेको आरोप छ ।

यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डे, प्रतीक थापा, बिचौलिया केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मासहित ३० जनाविरूद्ध राज्यविरूद्धको अपराध, ठगी, संगठित अपराध र किर्ते गरी ४ वटा कसुरमा २०८० जेठ १० मा जिल्ला काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । उक्त समय त्यसमध्ये १८ जनालाई मात्रै पेस गर्दै अन्यलाई फरार देखाइएको थियो । फरार प्रतिवादीमध्येका एक प्रतीक पनि थिए ।

जिल्ला अदालतले यो प्रकरणमा दुई जनासँग मात्र धरौटी माग गर्दै १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । त्यसविरूद्ध प्रतिवादीहरू उच्च अदालत पुगेका थिए । उच्च अदालत पाटनले पूर्वगृहमन्त्री खाणसहित ९ जनालाई धरौटीमा रिहा गर्ने आदेश गरेको थियो भने अन्यको हकमा जिल्लाकै आदेश सदर गरेको थियो ।

यस प्रकरणमा पूरक अभियोगपत्र लैजाने प्रहरीको तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर