एक वर्षमा ३,२९४ केजी सुन तस्करी, ७२ जनाको गिरोह संलग्न

चिनियाँ गिरोहले नेपालमा करिब एक वर्षको अवधि (मुख्यतः ०७९ मंसिरदेखि ०८० साउनसम्म)मा तीन हजार दुई सय ९४ केजी सुन तस्करी गरेको प्रहरीले निष्कर्ष निकालेको छ । यस तस्करीमा कम्तीमा ७२ जनाको गिरोह पत्ता लगाएको छ ।

पहिलो चरणको अनुसन्धानमा २९ जनाविरुद्ध मुद्दा दायर गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले दोस्रो चरणको विस्तृत अनुसन्धानमा थप ४३ जनाको संलग्नता पहिल्याएको हो । दोस्रो चरणको अनुसन्धान अन्तिम चरणमा पुगेको र सरकारी वकिलमार्फत यही साता अभियोजन हुने सिआइबीका निर्देशक एआइजी श्यामलाल ज्ञवालीले बताए ।

‘सुन काठमाडौंमा बिक्री गर्ने र त्यसको अवैध तरिकाले भुक्तानी गर्ने समूहमाथि केन्द्रित भई अनुसन्धान गरेका छौँ,’ उनले भने, ‘तस्करीका धेरै नयाँ तथ्य फेला परेका छन्, यो हप्ता अनुसन्धान टुंग्याएर अनुसन्धान प्रतिवेदन बझुाउँछौँ ।’

सिआइबीले दोस्रो चरणमा मुद्दा चलाइएकामध्ये २० जनालाई थुनामा राखी अनुसन्धान गरिरहेको छ । उनीहरूमध्ये १२ जना सुन ओसारपसारमा संलग्न तथा आठजना तस्करीको पैसा हुन्डीमार्फत अवैध कारोबारमा संलग्न छन् । जसमा भारतीय र चिनियाँसमेत छन् । तस्करीको सुन कारोबारमा संलग्न सिद्धार्थ भनिने सिद्धनाथ अशोक गायकवाड, धीरज दिनेश भोइटे, प्रशान्त गणेश बजबलकर, राजु खत्री, प्रेमनाथ सेढाईं, कान्छा लामा, मनोजराज श्रेष्ठ, रूपक भण्डारी, बैजनाथ ब्रह्मादत्त गोयल र सुरेन्द्रमान श्रेष्ठ छन् । त्यस्तै, चिनियाँहरू जेन्जा झाझी र सेराप भन्ने सोनाम गुरुङ पनि समातिएका छन् ।

त्यस्तै, सुन तस्करीको पैसा हुन्डीमार्फत विदेश पठाउन सहयोग गर्ने डिजिटल पेमेन्ट वालेट कम्पनी पेवेल नेपालका अध्यक्ष भीमप्रसाद तिमल्सिना, प्रज्वल आचार्य, सुरजशमशेर जबरा, फुन्सुक डाग्पा अथुप्छाङ खम्पा तथा सजिलो पेका सञ्चालक सुशील जाकिबन्जा, सिइओ काश्यप मानन्धर, एजेन्टहरू लालबहादुर कुँवर र अरुणकुमार यादवलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानमा संलग्न देखिएका थप २३ जना फरार छन् । जसमा पिन्टु नामक भारतीय तस्करी गिरोहका मुख्य व्यक्ति भएको खुलेको छ । चिनियाँसँग उनले नै सीधै सुन किनेर भारत लैजाने गरेका थिए । त्यस्तै, पेवेल नेपालका सञ्चालक नेपालभूषण चन्द पनि फरार छन् । उनी नेपाली सेनाका पूर्वरथी हुन् । सजिलो पेका अध्यक्ष सुनील जाकिबन्जालगायत पनि फरार सूचीमा छन् ।

ती दुई डिजिटल वालेट कम्पनीले एक खर्बभन्दा धेरैको कारोबार गरेको र त्यसमध्ये ९० प्रतिशत रकम सुनको अवैध कारोबारको देखिएको सिआइबी स्रोत बताउँछ । दुवै कम्पनीको खाता राष्ट्र बैंकले रोक्का गरिसकेको छ । अवैध सुन खरिद गर्नेले यी कम्पनीको खातामा पैसा हालिदिने र उनीहरूले विदेशबाट आउने रेमिटेन्सबापतको रकम विदेशमै सुन तस्करका एजेन्टलाई दिएर हिसाब मिलाउने गरेका थिए ।

पहिलो चरणको अनुसन्धानमा तीन सय ६२ केजी सुन तस्करी भएको सिआइबीको निष्कर्ष थियो । थप अनुसन्धान गर्दा दुई हजार नौ सय ३२ केजी सुन सो समूहले नेपालमा तस्करी गरेको प्रमाण भेटिएको हो । सिआइबीले पक्राउ परेका चिनियाँसँग ६ केजी सुन र ४८ लाख नगद भेटाएपछि त्यो भने यो तस्करीसँग सम्बन्धित नदेखिएको भन्दै भन्सार कार्यालयमा पठाइएको छ ।

सिआइबीले विशेषज्ञ र प्राविधिकसमेतको सहयोग लिएर यस विषयमा विस्तृत अनुसन्धान गर्दा २९ सय केजीभन्दा धेरै तस्करी गरेको पुष्टि भएको छ । उनीहरूले ब्रेक सुका साथै पानी तान्ने पम्प, स्मार्ट वाच, इलेक्ट्रिक सेभिङ मिसिनलगायत सामानभित्र लुकाएर सुन तस्करी गरेका हुन् ।

चिनियाँहरूले सुन पगाल्न टोखामा बनाएको टहरासहित लाजिम्पाट, सोह्रखुट्टे, बाँसबारीलगायत घरमा स्टोर गरिएका सामानका प्रहरीले विश्लेषण गरेको थियो । विदेशबाट आयात गरिएका ती सबै सामान सुन निकालेर राखिएका थिए । आयात गरेको सामानको विवरणका साथै कुन मेसिनमा कति सुन लुकाइएको थियो भन्ने प्राविधिक रूपमा विश्लेषण गरेर सिआइबीले हिसाब निकालेको हो । यसका लागि सुन, चाँदी तथा फलामसम्बन्धी विज्ञहरूलाई समेत साथमा लिएर सिआइबीले अनुसन्धान गरेको हो ।

सुन तस्करीमा भन्सार कर्मचारीको समेत चरम लापरबाही देखिएपछि उनीहरूलाई प्रतिवादी बनाउने–नबनाउने विषयमा टुंगिएको छैन । नियमविपरीत एक्जिम कोड जारी गर्नुका साथै विमानस्थलको चेकजाँचमा समेत भन्सारका कर्मचारीको चरम लापरबाही देखिएको छ । सिआइबीले भन्सारका कर्मचारीको पनि बयान कागज गरेको, तर उनीहरूले मुद्दा नचलाउन सामूहिक रूपमै दबाब दिएका छन् ।

यसअघि सुन तस्करी प्रकरणमा पहिलो चरणको अनुसन्धान निष्पक्ष हुन नसकेको आवाज उठेपछि सरकारले पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा जाँचबुझ आयोगसमेत गठन गरेको थियो । आयोगले सिआइबीको तत्कालीन नेतृत्व र अनुसन्धानमा आबद्ध अधिकारीलाई कारबाही सिफारिस गरेको थियो । यो समाचार नयाँपत्रिका दैनिकमा छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *