भारतले धौलीगङ्गा बाँध खोल्दै, सतर्कता अपनाउन आग्रह

भारतको उत्तराखण्ड प्रान्तको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध शनिबार खोलिने भएको छ । एनएचपीसी लिमिटेड र धौलिगङ्गा पावरस्टेसनले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पठाएको पत्रअनुसार परियोजनाको बाँध शनिबार बिहान ६ बजेदेखि आइतबार बेलुका ६ बजेसम्म खोलिने भएको हो ।

बाँध खोलेका बेला र खोलिएको केही घण्टा पश्चात महाकाली नदीको जलस्तर बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए । एनएचपीसी लिमिटेड, धौलिगङ्गा पावरस्टेशन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार वर्षातका कारण परियोजनाको जलाशयमा पानीको प्रवाह वृद्धि हुँदै गएको र सरसफाइका लागि बाँधको ढोका खोल्न लागिएको हो ।

बाँध खोलेको बेला नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ । लगातारको वर्षा र बाँध खोलिए पश्चात महाकाली नदीमा जलस्तर बढ्ने खतरा भएकाले नदी वारपार नगर्न पनि आग्रह गरिएको छ ।

दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाउन स्थानीय प्रशासनले अनुरोध गरेको हो । धौलिगङ्गा जलविद्युत परियोजनाको बाँध वर्षातको बेला हरेक वर्ष खोलिने गरिन्छ । परियोजनाको बाँध खोल्नु पूर्व सतर्कताका लागि भारतले महाकाली तटीय क्षेत्रका जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराउने गरेको छ ।

विसं २०७० असार २ र ३ गते दुई सय ८० मेगावाट क्षमताको धौलीगङ्गाको बाँध एक्कासी खोल्दा दार्चुला सदरमुकाम खलङ्गामा करोडौँ रुपैयाँको क्षति भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर