उर्जा क्षेत्रको विकासले मुलुकको समृद्धिलाई नयाँ गति दिन्छ : उर्जामन्त्री बस्नेत

उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले उर्जा क्षेत्रको विकासले मुलुकको समृद्धिलाई अझ नयाँ गति दिने बताएका छन्।

शुक्रवार नेपाल विद्युत प्राधिकरणले काठमाडौंको स्युचाटारमा निर्माण गरी सञ्चालनमा ल्याएको डाटा सेन्टरको उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले विद्युत् वितरण प्रणाली नियन्त्रण सेन्टर र अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक डाटा सेन्टरको निर्माण नेपालको ऊर्जा क्षेत्रलाई थप स्मार्ट बनाउन अर्को महत्वपूर्ण पाइला भएको बताए।

मन्त्री बस्नेतले ऊर्जा व्यवस्थापन, सञ्चालन र प्राधिकरणको सेवालाई स्वचालित तथा आधुनिक बनाउन अर्को महत्वपूर्ण उपलब्धी हासिल भएको उल्लेख गरे।

उनले उर्जा क्षेत्रको विकास सँगसँगै उर्जा क्षेत्रको व्यवस्थापन मुख्य चुनौती रहेको बताए। उनले नेपाल विद्युत प्राधिकरण उर्जा व्यवस्थापनलाई सबल, सक्षम र सुदृढ रुपमा सञ्चालन गरिरहेको बताए। उनले उर्जा क्षेत्रले निर्वाह गरिरहेको भुमिकालाई व्यापक बनाउन, व्यवस्थित बनाउन डाटा सेन्टरले महत्वपूर्ण भुमिका खेल्ने बताए।

उनले भने, ‘उर्जा क्षेत्रको विकासले मुलुकको समृद्धिलाई अझ नयाँ गति दिने, अझ अघि बढाउने कुरामा थप योगदान पुग्ने कुरा स्वतःस्पष्ट छ । उर्जा क्षेत्रको विकास सँगसँगै उर्जा क्षेत्रको व्यवस्थापनको मुख्य भुमिका निर्वाह गरिराखेको नेपाल विद्युत प्राधिकरण आफैँमा पनि सबल, सक्षम र सुदृढ बन्दै गइरहेको छ । यो एउटा थप दृष्टान्त हो । हामीले अहिले डिजिटल एनइएको कुरा गरिरहेका छौँ । एनइए अन्तर्गत एउटा डाटा सेन्टर, एड्भान्स डाटा सेन्टरको जसरी व्यवस्थापन हुन गइरहेको छ । मलाई लाग्छ, हाम्रो उर्जाको समग्र व्यवस्थापनमा एनइएको भुमिकालाई यसले थप प्रभावकारी बनाउने नै छ । समग्र मुलुकको उर्जा व्यवस्थापनमा यसले थप योगदान गर्नेछ । हामीले उर्जा सेक्युरिटीको कुरा गरिरहेका छौँ । इनर्जी फर डेभलपमेण्ट, फर प्रस्परेटिको कुरा गरिरहेका छौँ । यो सबै क्षेत्रमा उर्जा क्षेत्रले निर्वाह गरिरहेको भुमिकालाई व्यापक बनाउन, व्यवस्थित बनाउन डाटा सेन्टरले भुमिका खेल्ने विश्वास लिएको छु ।’

कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत प्राधिकरणका लागि डिजिटाइजेशन इनिसिएटिभको लागि कोशेढुंगा सावित हुने बताए। उनले डेटा सेन्टर बिना प्राधिकरण अघि बढ्न नसक्ने अवस्थामा रहेको भन्दै अब त्यो समस्या सिर्जना नहुने बताए। विगत ७ वर्षअघि प्राधिकरण अप्रेशनको हिसावले कमजोर स्थितिमा रहेको र अहिले पनि सिस्टम अप्रेशनमा गुणस्तरीयतामा पूर्ण नरहेको उनले बताए।

उनले विद्युतीय क्षेत्रको समग्र डिजिटाइजेशनको शुरुवात डाटा सेन्टरसँग सबै क्षेत्र समेटेर अघि बढ्ने हिसावले काम अघि बढेको बताए। प्राधिकरणले थ्रि फेज स्मार्ट मिटर देशभर नै रिप्लेस गरिसकेको बताए।

सिंगल फेज स्मार्ट मिटर पनि पाइलटको रुपमा करिव १ लाख मिटर सम्पन्न गरिसकेको उनले बताए। देशभर नै स्मार्ट मिटर रिप्लेसमेण्ट गर्नेगरी प्रोजेक्ट अघि बढाइरहेको उनले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *