एसईईको नतिजामा सांसदहरू असन्तुष्ट, लगाए सरकारलाई दोष

सांसदहरूले एसईई परीक्षामा ५२ प्रतिशतभन्दा बढी अनुत्तीर्ण भएको भन्दै यस सम्बन्धमा गहन अध्ययन गर्नुपर्ने धारणा राखेका छन् ।

शुक्रबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसदहरूले एसईई परीक्षाको परिणामप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । उनीहरूले ५२ प्रतिशतभन्दा बढी विद्यार्थीहरू अनुत्तीर्ण हुनुको कारण खोजबिन गर्नुपर्ने बताएका छन् । सांसदहरूले धेरै विद्यार्थीहरू अनुत्तीर्ण हुनुको दोष सरकारकै रहेको बताएका छन् ।

बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले ५२ प्रतिशत विद्यार्थी असफल हुनु भनेको राष्ट्र नै असफल हुनु भएको टिप्पणी गरिन् । उनले नेपालको शिक्षा प्रणाली र सरकार नै असफल भएको बताइन् । उनले यसप्रति शिक्षा मन्त्रालयलाई गम्भीर हुन आग्रह गरिन् ।

उनले भनिन्,‘हिजो प्रकाशित एसईईको परिणामले हाम्रो अगाडि ठूलो प्रश्नचिह्न खडा गरेको छ । ५२ प्रतिशत असफल हुनु भनेको यो राष्ट्र नै असफल हुनु हो । शिक्षा प्रणाली नै असफल हुनु हो र सरकार असफल हुनु हो ।’

त्यस्तै नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले विद्यार्थी अनुत्तीर्ण भएका हुन् कि सरकार अनुत्तीर्ण भएको हो भनी प्रश्न गरे । उनले शिक्षामा गुणस्तरीता नभएका कारण यस प्रकारको परिणाम आएको बताए । उनले २ लाख ४२ हजारभन्दा बढी विद्यार्थीहरूलाई उच्च शिक्षा पढ्ने हैसियत छैन भनेर सरकारले भन्न नमिल्ने बताए ।

उनले भने, ‘विद्यार्थी फेल भएका हुन् कि सरकार फेल भएको हो ? सरकारका असफलताका कारणले विद्यार्थीहरुलाई अयोग्य ठहराइयो । सरकारले गुणस्तरीयता वृद्धि गरेर धेरै विद्यार्थीलाई पास गर्न लाग्नुपर्थ्यो।’

बैठकमा बोल्दै जनता समाजवादी पार्टी, नेपालकी सांसद रेखा यादवले विद्यार्थीहरू अनुत्तीर्ण हुनुको कारणको अध्ययन गर्नुपर्ने धारणा राखिन् । उनले ५० वर्षे पुरानो शिक्षा नीतिको ढर्रा कहिले तोड्ने भनी प्रश्नसमेत गरिन् ।

प्रतिक्रिया

One thought on “एसईईको नतिजामा सांसदहरू असन्तुष्ट, लगाए सरकारलाई दोष

Leave a Reply

Your email address will not be published. Required fields are marked *