विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न नाम दर्ताको प्रक्रिया सुरू

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विदेशमा बस्ने नेपालीको मताधिकारलाई सुनिश्चित गर्न मतदाता नामावलीमा नाम दर्ता गर्न प्रारम्भ भएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक दलहरूसँग पटकपटक छलफल गरेर कार्यविधि पनि अहिले स्वीकृतिको चरणमा रहेको जानकारी दिए । उनले मलेसियासहित खाडीका अन्य ६ वटा मुलुकबाट मतदाता नामावलीमा नाम दर्ता गर्न प्रारम्भ गरेको बताए ।

उनले सरकार र परराष्ट्र मन्त्रालयले सहयोग गरेको खण्डमा विदेशमा रहने नेपालीहरूको मतदाता नामावली संकलन पूर्ण हुने बताए । उनले विदेशमा बस्ने नेपालीहरूलाई मतदानको अधिकार दिने हो भने पहिलो प्राथमिकता वास्तविक नेपाली नागरिक र वास्तविक मतदाताहरू रहेको ठाउँलाई दिनुपर्ने बताए ।

‘हामीले विदेशमा बस्ने नेपालीको मताधिकारलाई सुनिश्चित गर्नका निम्ति कम्तीमा मतदाता नामावलीमा नाम दर्ता गर्न प्रारम्भ गरौं भन्यौं । राजनीतिक दलहरूसँग पटकपटक छलफल गरेका छौं । कार्यविधि पनि अहिले स्वीकृतिको चरणमा छ,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘त्यतिबेला हामीले कहाँ जाने भन्दा हामीले के निधो गर्‍यौं भने मलेसिया र खाडीका ६ वटा मुलुकबाट प्रारम्भ गरौं न त मतदाता दर्ता चाहिँ प्रारम्भ गरौं भनेर हामीले एउटा अभ्यास प्रारम्भ गरेका थियौं । यसमा विशेष गरेर सरकार र परराष्ट्र मन्त्रालयको सहयोग हामीलाई चाहिन्छ ।’

सेवा सुविधा बसेको देशको लिनेहरूलाई दोस्रो प्राथमिकतामा राखेर आयोगले मतदाता नामावली संकलन गरिरहेको बताए । उनले बाह्य मतदान स्थानीय तह, प्रदेश, प्रतिनिधिसभा कहाँकहाँ दिने भन्ने बारेमा पनि विस्तृत छलफल हुनुपर्ने बताए । उनले निर्वाचन आयोग अहिले प्रतिनिधिसभाको समानुपातिकतर्फ मात्रै मतदानको अधिकार दिनुपर्छ भन्ने निष्कर्षमा रहेको पनि बताए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले अहिले दोहोरो नागरिकता, डीभी, पीआर, नेपाली नागरिकको विषय र मतदानको अधिकारको विषयमा विश्लेषण गर्नुपर्ने बेला आएको बताए । उनले निर्वाचनको मूल मन्त्र निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वासिलो हुनुपर्ने रहेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *