सेनाका रथी सिग्देलको उमेर विवादबारे स्पष्ट पार्न सांसद साहको माग

भावी प्रधानसेनापतिको लाइनमा रहेका बलाधिकृत रथी अशोकराज सिग्देलको उमेर विवादको विषयमा संसद्मा उठेको छ ।

रथी सिग्देलको उमेर विवादको विषय सञ्चारमाध्यममा आएको भन्दै यसबारे सेना तथा रक्षा मन्त्रालयले स्पष्ट पानुपर्ने आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले माग गरेका हुन् ।
सांसद साहले यस सम्बन्धमा प्रधानसेनापति प्रभुराम शर्मासँग जवाफ माग गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै अध्यक्ष साहले नेपाली सेनाको आगामी नेतृत्वको रुपमा लिइएका रथि सिग्देलको उमेर विवाद रहेको भन्दै यस सम्बन्धमा प्रधानसेनापतिको जवाफ माग गरेका हुन् ।

नेपाली सेनाको छवि निस्कलंकित, निर्विवादित र उदाहरणीय हुनुपर्ने भए पनि रथिको उमेर विवादले नेपाली सेनाको छविमाथि आँच पु¥याएको उनको भनाइ थियो ।

रथिमाथि प्रश्न उठ्दा प्रधानसेनापति र रक्षामन्त्री चुप लागेर बस्न नमिल्ने पनि साहले तर्क गरे ।
‘यसरी विवादित कुराहरु बाहिर आइराख्दा सम्बन्धित निकायले किन स्पष्ट गर्दैन ? हामी जान्न चाहन्छौँ । माननीय रक्षामन्त्रीको जवाफ चाहन्छौँ । यसरी देशको सम्मानित संस्थाको नेतृत्वमाथि यसरी प्रश्न उठिराख्दा तपाई चुप लाग्न मिल्दैन,’ उनले भने ।

सिग्देल गत वर्षको मंसिरमा रथीमा बढुवा भएका हुन् । उनीअघि रथीमा बढुवा हुन लागेका ताराध्वज पाण्डे नागरिकता किर्तेको विवादमा मुछिएपछि राजीनामा दिएका थिए । त्यसपछि रथीमा बढुवा भएका सिग्देलको पनि नागरिकता र शैक्षिक प्रमाणपत्रमा फरक फरक जन्ममति भएको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।

उनको जन्म २०२१ मा भए पनि २०२३ साल बनाइएको आरोप थियो । अख्तियारले आफ्नो क्षेत्राधिकार नभएको भन्दै रक्षा मन्त्रालयलाई छानबिन गर्न पत्र पठाएको थियो । मन्त्रालयको छानबिनमा भने उमेर विवाद नरहेको निष्कर्ष निकालिएको थियो ।

सिग्देल २०४३ फागुन ३ मा नेपाली सेनाको अधिकृत क्याडेट दर्जामा प्रवेश गरी २०४५ जेठ १९ मा नेपाली सैनिक प्रतिष्ठानबाट सहायक सेनानी भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *