
कायरोमा नेपालसम्बन्धी तस्बिर प्रदर्शनी


कायरोस्थित नेपाली राजदूतावासमा इजिप्टका कलाकारद्वारा नेपाली मुहार चित्रण शीर्षकमा कला तथा तस्बिर प्रदर्शनी आयोजना गरिएको छ।
नेपाल-इजिप्ट द्विपक्षीय सांस्कृतिक आदानप्रदान प्रवर्द्धन कार्यक्रमअन्तर्गत तार, काठ र ढुङ्गाबाट सृजना गर्ने इजिप्टका कलाकार गलाल गोमाको प्रमुख आतिथ्यमा भएको प्रदर्शनीमा फोटो पत्रकार तथा वृत्तचित्र निर्माता अशरफ तलात र फोटोग्राफर यासेर अला मुबारकले नेपालमा खिचेका तस्बिर र मुहार चित्र एवं फौजी मोर्सीलगायत १८ जना कलाकारका मुहारचित्र राखिएको उक्त दूतावासका तृतीय सचिव माधवराज काफ्लेले जानकारी दिए।
प्रदर्शनीमा अशरफ तलातले गत मार्च र मेमा मुस्ताङ र लुम्बिनीमा खिचेका तथा यासेर आलाले गत शिवरात्रिमा पशुपतिनाथ मन्दिरको वरिपरि खिचेका तस्बिर समावेश गरिएका थिए।
त्यस अवसरमा इजिप्टका सांसद डा माई अल-बत्रानले नवीन अवधारणाको प्रयोगसहितको कला प्रदर्शनीले दुई मुलुकबीचको जनस्तरको सम्बन्धलाई सुदृढ गर्न टेवा पुग्ने धारणा व्यक्त गरे।
इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्सालले नेपालको विविधतापूर्ण परिदृश्य र सांस्कृतिक सम्पदा तथा नेपाली मुहारलाई जीवन्त रूपमा चित्रण गरेकामा फोटोग्राफर र कलाकारप्रति आभार व्यक्त गरे।
उनले कलाकारका सृजनाले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई प्रवर्द्धनमा योगदान पुग्ने बताए। साथै उनले सहभागी कलाकारलाई कदरपत्र प्रदान गरे।
प्रतिक्रिया