पुनः वामपन्थी एकताको प्रक्रियातिर अघि बढिसक्यौं : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूहरू वामपन्थी एकताको प्रक्रियातिर अघि बढिसकेको बताएका छन्

शुक्रबार काठमाडौंमा भएको जगतबहादुर बोहराको जीवनी तथा संस्मरणहरू लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले वामपन्थी एकतालाई सफल पार्न आ-आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए । उनले नकारात्मक भाष्य चिर्ने र जनताको पक्षमा अझ राम्रा कामहरू गरेर जनतामा आशा र भरोसा जगाउनेतिर केन्द्रित हुनुपर्ने बेला भएको बताए ।

उनले क्रान्ति र परिवर्तनका उपलब्धिहरू संस्थागत गर्दै समाजवादको आधार तयार पार्न सरकार अहिले सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकतामा राखेर अघि बढिरहेको जिकिर गरे । उनले सरकारको यस प्रयासमा नेपालका सबै वामपन्थी लोकतान्त्रिक एवं प्रगतिशील शक्तिको साथ र सहयोग आवश्यक रहेको बताए ।

उनले अहिलेको देशको परिस्थितिबारे नकारात्मक भाष्य सिर्जना गरिएको भन्दै उक्त भाष्य चिरेर अघि बढ्नुपर्ने बताए । उनले जनतालाई आशा र भरोसा जगाउने गरी उपलब्धिहरूको रक्षा .र जनतालाई निराश हुन नदिने गरी सीमा र कमजोरीको समीक्षा गर्नुपर्ने बताए ।

‘हामी कम्युनिष्टहरूको आवश्यकता सबै लोकतान्त्रिक शक्तिहरूको पनि आवश्यकता के हो भने हामी एकताबद्ध भएर त्यो भाष्य चिर्नतिर लाग्नुपर्ने हुन्छ । हामीले जनतालाई आशा र भरोसा जगाउने गरी उपलब्धिहरूको पनि र जनतालाई निराश हुन नदिने गरीकन सीमा र कमजोरीको पनि समीक्षा गर्नुपर्छ,’ प्रधानमन्त्री दाहालले भने, ‘तर, यहाँ जनतालाई यहाँ केही छैन, केही भएन भनेर प्रशिक्षित गर्ने, त्यस खालको सन्देश दिन खोजिएको छ । त्यसलाई रोक्नुपर्ने हुन्छ । हामीले त्यो नकारात्मक भाष्य चिर्ने र जनताको पक्षमा अझ राम्रा कामहरू गरेर जनतामा आशा र भरोसा जगाउनेतिर केन्द्रित हुनुपर्छ । हामी एकताको प्रक्रियातिर अघि बढिसकेका छौं ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर