पोखरा र गौतमबुद्ध विमानस्थल निर्माणमा भएको अनियमितता छानबिन गर्न २ संसदीय उपसमिति गठन

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा आर्थिक अनियमितता भएको आशंकासहित छानबिन गर्न दुई छुट्टाछुट्टै संसदीय उपसमिति गठन गरेको छ ।

सार्वजनिक लेखा समितिले दुबै विमानस्थल निर्माण गर्दा आर्थिक अनियमितता भएको आशंकासहित समग्र पक्षको छानबिन गरी रायसहितको प्रतिवेदन पेश गर्न दुई उपसमिति गठन गरेको हो ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी छानबिन गर्न राप्रपा अध्यक्ष तथा सांसद राजेन्द्रप्रसाद लिङदेनको संयोजकत्वमा १२ सदस्यीय र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसमबन्धी छानबिन गर्न एमाले सचिव तथा सांसद योगेश भट्टराईको संयोजकत्वमा ८ सदस्यीय उपसमिति गठन भएको हो । ।

दुबै उपसमितिलाई अधिकतम महिना दिन भित्र प्रतिवेदन पेश गर्न समय दिइएको लेखा समिति सभापति ऋषिकेश पोखरेलले बताए ।

पोखरा विमानस्थल निर्माणसम्बन्धी लिङदेनको संयोजकत्वमा गठित उपसमितिमा अर्जुननरसिंह केसी, गोकुलप्रसाद बाँस्कोटा, जनार्दन शर्मा, तारा लामा तामाङ, तेजुलाल चौधरी, दिपक गिरी, देवप्रसाद तिमल्सिना, प्रेमबहादुर आले, रामकृष्ण यादव, रुक्मणी राना बराइली र लेखनाथ दाहाल सदस्य छन् ।

त्यस्तै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी छानबिन गर्न भट्टराईको संयोजकत्वमा अच्युतप्रसाद मैनाली, अमरेशकुमार सिंह, बिक्रम पाण्डे, मञ्जु खाँण, मनिष झा, श्यामकुमार घिमिरे र सराज अहमद फारुकी छन् ।

सभापति पोखरेलले दुवै अन्तर्राष्ट्रिय विमानस्थल चाहिन्छ भनेर कसरी माग प्रस्ताव सुरु भयो भन्नेदेखि गुरुयोजना, लागत र ठेक्का, निर्माण हुँदै अहिलेसम्मको समग्र अवस्थालाई अध्ययन छानबिन गरी रायसहितको प्रतिवेदन पेस गर्न उपसमितिलाई कार्यादेश दिइएको बताए ।

दुवै अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवको आयोजनाका रुपमा निर्माण गरिएको थियो । तर, दुवै विमानस्थलबाट अहिले कुनैपनि अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । पोखरा विमानस्थल चीन सरकारको २२ अर्ब ऋण र गौतवबुद्ध एडीबीसहितको ७ अर्ब ऋण तथा आफ्नै लगानीमा निर्माण भएका विमानस्थल हुन् ।

पोखरा विमानस्थल बनाउन सरकारले चीनको एक्जिम बैंकसँग २०७२ मा सम्झौता गरेर १ अर्ब ३७ करोड ८७ लाख चिनियाँ युआन ऋण लिएको छ । यसको २५ प्रतिशतको ब्याज तिर्नुपर्दैन । ब्याज तिर्नु नपर्ने रकम ३४ करोड ४६ लाख ८५ हजार युआन हुन आउँछ । बाँकी रकममा २ प्रतिशत ब्याज छ । यो महँगको ब्याजदर हो । अन्तर्राष्ट्रिय दातृ निकायबाट लिइने ऋणको ब्याज १ प्रतिशतभन्दा कम हुन्छ ।

यस ऋणमा ७ वर्षको ग्रेस पिरियड छ र कुल २० वर्षमा यो ऋण तिरिसक्नुपर्छ । ग्रेस पिरियड चाँडै सकिँदै छ । प्राधिकरणका अनुसार पहिलो किस्ता बापतको ५ करोड ३० लाख २८ हजार ४६१ युआन (करिब ३३ करोड रुपैयाँ) यही चैतमा तिर्नुपर्ने छ । दोस्रो किस्ता त्यसको ६ महीनापछि तिर्नुपर्छ । प्राधिकरणले एक्जिम बैंकको ऋण अर्धवार्षिक किस्तामार्फत चुक्ता गर्नुपर्छ । तर विमानस्थल नै सञ्चालन गरेर आएको मुनाफाबाट ऋण तिर्ने सम्भावना भने कम देखिँदै छ ।

२०७९ जेठदेखि विमानस्थल व्यवसायिक रुपमा सञ्चालनमा आएको थियो । तर, अहिले व्यवसायिक उडान ठप्प छ । यो आयोजनामा सुरु सम्झौता ३० अर्ब ९१ करोड रहेकोमा निर्माण अवधि लम्बिएपछि लागत पनि बढ्यो । बढेको लागत मूल्य अभिवृद्धि करसहित ३५ अर्ब ६६ करोडमा सम्पन्न भएको थियो । यति ठूलो धनराशी खर्चेर विमानस्थल निर्माण गरिएपनि नियमित रुपमा अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । महालेखा परीक्षक कार्यालयले विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्न वायु सेवा कम्पनी र विभिन्न देशसँग समन्वय गर्न निर्देशन दिएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले १ वैशाख २०७३ मा विमानस्थलको शिलान्यास गरेका थिए । १० जुलाई २०२१ मा काम सक्ने गरी चिनियाँ कम्पनी सीएएमसीईलाई निर्माणको जिम्मा दिइएको थियो । तर, करिब डेढ वर्षपनि निर्माण सम्पन्न भएर सञ्चालन आएको हो ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल।

२०७१ माघमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले ‘बुद्धको जन्मथलो लुम्बिनी प्रवेश गर्ने मूलढोकामै रहेको’ तत्कालीन आन्तरिक विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलमा रूपान्तरण गर्ने परियोजनाको शिलान्यास गरेका थिए ।

दुवै परियोजना भूकम्प, नाकाबन्दी, कोभिड महामारी, आर्थिक मन्दी, निर्माण सामग्रीको अभाव, स्थानीयका मागसँग जुध्दै सम्पन्न हुन करीब नौवर्ष लाग्यो । विमानस्थल निर्माण गर्न पोखरामा २५ अर्ब ३४ करोड र भैरहवामा ३५ अर्ब ६६ करोड खर्च भएको छ । तर, यतिठूलो धनराशी खर्चेर बनाइएका दुवै विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान अहिले शुन्य छ ।

२०७९ जेठमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले भैरहवामा मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरेका थिए । १२ सय बिघामा फैलिएको विमानस्थलमा त्यही दिनदेखि कुवेतको जजिरा एयरवेजले नियमित उडान भरेको थियो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०७९ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका थिए । तर, अहिले भैरहवाबाट यतिबेला कुवेतको जजिराले सिधा उडानबाट हात झिकिसकेको छ भने पोखरामा कुनैपनि व्यवसायिक उडान हुन सकेको छैन ।

डेढ वर्षमा पोखरामा दुईतर्फी १४ वटा चार्टर उडान बाहेक कुनैपनि अन्तर्राष्ट्रिय उडान भएन । पोखरामा सिधा उडान गर्न बंगलादेशको वायुसेवा इच्छुक भएको भनिएपनि यसमा अझै सार्थक संवाद अघि बढेको छैन ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर