चिनियाँसँग विवाह गरेर यसरी बेचिन्छन् नेपाली चेली

विभिन्न प्रलोभनमा पारेर नेपालबाट चीनतर्फ मानव तस्करी बढिरहेको छ । आकर्षक रोजगारी, चिनियाँसँग विवाह, सुखसयल आदिको बहानामा नेपालबाट चीन मानव तस्करी बढिरहेकाे घटनाक्रमहरूले देखाएका हुन् । नेपाली र चिनियाँ दलालहरूले दुई देशमा आफ्नो सञ्जाल फैलाएर संगठित रूपमा पैसाको लेनदेन गराई मानव तस्करी गर्ने गरेका छन् ।

यसअघि विभिन्न समयमा विभिन्न प्रलोभनमा पारी मानव तस्करी गर्ने नेपाली र चिनियाँलाई प्रहरीले पक्राउ गरेर कारबाही गरेको थियो । तस्करले नेपालीलाई चीनमा बेचबिखन गरेपछि चिनियाँले बन्धक बनाएर शारीरिक तथा मानसिक यातना दिने, श्रम शोषण, यौन शोषण गर्ने, वेश्यावृत्ति र जोखिमपूर्ण कार्यमा लगाउने गरेका छन् ।

याे पनि : वेश्यावृत्तिका लागि नेपालका अदालतमा विवाह गरेर युवतीकाे चीनमा तस्करी

यसैबीच चिनियाँ पुरूषसँग विवाह गराइदिने बहानामा एक नेपाली महिलालाई चीनमा बेचबिखन गरेको आरोपमा एक नेपाली महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा ३१ वर्षीया सुन्दरी राई छिन् ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले उनलाई मंगलबार पक्राउ गरेको हो । ब्यूरोका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रका अनुसार उनले पीडित युवतीलाई चिनियाँ पुरूषसँग काठमाडौंको ठमेलमा भेट गराई उनीसँग विवाह गराइदिएर भिजिट भिसामा चीन पठाएर बिक्री गरेको खुलेको छ ।

राईले पीडित महिलासँग सामाजिक सञ्जाल फेसबुकमार्फत कुराकानी गरेर आफूले चिनियाँ नागरिकसँग विवाह गरेर चीनमा गएको १० बर्ष भयो, चीनमा धेरै राम्रो हुन्छ, तिमी पनि विवाह गरेर आऊ, विवाह गर्ने केटासँग मेरो चिनजान छ, केटा धनी र राम्रो छ भनी प्रलोभन देखाएकी थिइन् ।

याे पनि : मानव तस्करी माफिया ‘चिनियाँ’ पक्राउ

राई पीडित महिलालाई गत वर्ष फागुन १० गते भिजिट भिसामा चीन पुर्‍याएर १ लाख ५० हजार रूपैयाँमा बिक्री गरी नेपाल फर्केकी थिइन् ।
प्रहरी अनुसन्धामा पीडित महिलालाई चिनियाँ नागरिकले घरमै बन्धक बनाई शारीरीक तथा मानसिक यातना दिएर पटकपटक यौन शोषण गरेको पाइएको छ । प्रहरीले पीडित महिलालाई चीनस्थित नेपाली राजदूतावासको समन्वयमा गत आइतबार उद्धार गरेर नेपाल ल्याएको छ ।

प्रतिवादी राईविरूद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर आवश्यक अनुसन्धान र घटनामा संलग्न चिनियाँ नागरिक तथा अन्य प्रतिवादीहरूको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

याे पनि : फ्रि भिसामा आउने, अपराध गर्ने र चीन नै भाग्ने

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर