नाटोको प्रमुख नियुक्त मार्क रुट को हुन् ?

नेदरल्यान्डका प्रधानमन्त्री मार्क रुट उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) को प्रमुख नियुक्त भएका छन् । अमेरिका तथा पश्चिमा देशहरुको यो सैन्य संगठनको आगामी कार्यकालका लागि प्रमुखको घोषणा भएको हो ।

रुटलाई यस्तो बेला जिम्मेवारी दिइएको छ, जतिबेला रुस–युक्रेनबीच युद्ध जारी छ भने युरोपेली सुरक्षाका लागि यो एक महत्वपूर्ण समय हो ।

नाटोको ब्रसेल्सस्थित मुख्य कार्यालयमा बैठकको क्रममा रुटको नियुक्तिको निर्णय भएको थियो । उनलाई अमेरिकी राष्ट्रपति जो बाइडन र उनका समकक्षीले वासिंगटनमा आगामी जुलाई ९–११ सम्म हुने एक शिखर सम्मेलनमा औपचारिक रुपमा स्वागत गर्नेछन् ।

रुटले आगामी १ अक्टोबरमा पदभार सम्हाल्नेछन् । प्रधानमन्त्रीको रुपमा रुटको कार्यकाल छिटै समाप्त हुँदै छ । उनले नर्वेका जेन्स स्टोल्टेवर्गको स्थान लिन लागेका हुन् । स्टोल्टेनवर्गले उक्त पदमा एक दशकभन्दा बढी समय बिताइसकेका छन् ।

२०२२ मा रुसले युक्रेनमाथि आक्रमण थालेपछि उनको कार्यकाल पटकपटक बढाइएको थियो । उनले रुटको नियुक्तिको स्वागत गरे ।

‘म आफ्नो उत्तराधिकारीको रुपमा मार्क रुटलाई नाटो सहयोगीहरुले गरेको चयनलाई स्वागत गर्छु । मार्क एक बलिया नेता हुन् । म उनको सफलताको कामना गर्छु । आज वा आगामी समयमा आउने चुनौतीको सामना गर्नका लागि नाटोलाई अझ बलियो बनाउन आवश्यक छ । मलाई थाहा छ कि, नाटोलाई मैले राम्रो हातमा हस्तान्तरणमा गरिरहेको छु ।’

रुटको प्रतिस्पर्धामा रोमानियाका प्रधानमन्त्री क्लोस लोहनिस थिए । यद्यपि, उनले पछिल्लो साता आफ्नो नाम फिर्ता लिएका थिए ।

नाटो प्रमुखको रुपमा मार्कलाई रुस–युक्रेन युद्धबाहेक अन्य चुनौती पनि छन् । पछिल्लो समय नाटो देशहरुबीच सामाञ्जस्यको कमी छ । साथै, उनलाई नाटोलाई अझ बलियो बनाउनुपर्ने चुनौती पनि छ ।

लिथुवानियामा आगामी जुलाई नाटो सम्मेलन हुने तय भएको छ । जसमा युक्रेन सदस्यता लिने प्रयासमा छ । तर केही देश युद्धको क्रममा युक्रेनलाई सदस्यता दिन नहुने अडानमा छन् ।
रुस सन् २०१० मा पहिलोपटक नेदरल्यान्डको प्रधानमन्त्री नियुक्त भएका थिए । त्यसयता लगातार प्रधानमन्त्री बन्दै आएका उनी युरोपको शीर्ष नेतामा पर्छन् । यद्यपि, उनी नेतृत्वको सरकारलाई विभिन्न घोटालाको आरोप लागेको थियो ।

नाटोको स्थापना सन् १९४७ अप्रिल ४ मा भएको थियो । अमेरिकालगायत प्रमुख पश्चिमा देशहरुको सहभागिता रहेको यो शक्तिशाली सैन्य संगठनको स्थापना उद्देश्य तत्कालीन सोभियत संघलाई टक्कर दिनु थियो । सोभियत संघ विघटन भएपछि यसलाई पनि बन्द गर्नुपर्ने आवाज उठेको थियो ।

तर, पछिल्लो समय रुस र चीनको प्रभाव बढ्न थालेपछि नाटो झन् सक्रिय हुन थालेको छ । सुरुवातमा १२ सदस्य रहेको यो संगठनमा अहिले ३२ देश पुगिसकेका छन् । पछिल्लो समय फिनल्यान्ड यो संगठनमा सहभागी भएको छ ।

संगठनमा आबद्ध देशहरुको सुरक्षा नै नाटोको मुख्य जिम्मेवारी हो । नाटोको आर्टिकल ५ का अनुसार यसमा आबद्ध कुनै पनि देशमा हुने आक्रमण नाटोका सबै देशमा आक्रमण गरिएको मानिन्छ । टर्की नाटोमा जोडिने एकमात्र मुस्लिम देशमा पर्छ । एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर