माओवादी सांसदको आपत्तिजनक माग : यौन दुर्व्यवहार आरोपी निर्मल पुर्जालाई कारबाही नगरियोस्

नेकपा (माओवादी केन्द्र) का सांसद सुरेशकुमार आलेमगरले यौन दुर्व्यवहारको आरोप लागेका आरोही निर्मल पुर्जालाई कारबाही नगर्न सरकारसँग आग्रह गरेका छन् ।

बिहीबारको राष्ट्रियसभा बैठकमा बोल्दै उनले आरोही पुर्जामगरले विश्व रेकर्ड कायम गर्नुका साथै नेपालको नाम विश्वभर चिनाएको भन्दै सामान्य कारबाही हुनुपर्ने माग राखेका हुन् । उनले निर्मल पुर्जालाई कारबाही गर्ने कुराको आफूले घोर भर्त्सना गर्ने बताए ।

उनले पुर्जामाथि गरिने कारबाही तत्काल बन्द गर्न आग्रह गरे । उनले कुनै नियम कानुनको उल्लंघन गरेको भए सामान्य कारबाही हुनुपर्ने बताए । उनले पुर्जामगरलाई पर्वतारोहण गर्नबाट बन्देज लगाउने कुरा बाहिर आइरहेको भन्दै आरोहण बन्देज गर्न नहुने बताए ।

‘निर्मल पुर्जामगरलाई कारबाही गर्न लागिएको छ । यस कार्यको म निन्दा र भर्त्सना गर्न चाहन्छु । उनीमाथि गरिने कारबाही तुरून्त बन्द गरियोस् भनेर म सम्माननीय अध्यक्षमार्फत सरकारसँग माग गर्न चाहन्छु,’ सांसद आलेमगरले भने, ‘निश्चित रूपमा उसले कुनै नियम कानुनको उल्लंघन गरेको होला, त्यसको लागि सामान्य कारबाही गर्नुपर्ने हुन्छ । उसलाई ब्याण्ड गर्ने होइन ।’

सांसद आलेमगरले निरंकुश, तानाशाही, निर्दलीय पञ्चायती व्यवस्थाको कोशी अञ्चलको भूतलाई ब्युँताउँदै कोशी प्रदेश बनाइएको भन्दै कोशी प्रदेशविरूद्ध भएको आन्दोलनमा इलामका हस्तबहादुर लिम्बूलाई पक्राउ गरी जेलमा राखिएको भन्दै तत्काल रिहा गर्न आग्रह गरे ।

उनले देशमा भ्रष्टाचारको जगजगी रहेको बताए । उनले भ्रष्टाचारको आरोप लागेका मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सरूव गर्ने कुरा चित्तबुझ्दो नरहेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर