रास्वपाले एनजीओको जसरी राजदूत छनोट गर्न लागेको भन्दै कांग्रेसको आपत्ति

नेपाली कांग्रेसका सांसद एनपी (नारायणप्रकाश) साउदले सरकारले ११ देशका राजदूत फिर्ता गरेर नयाँ नियुक्त गर्न गरेको निर्णय तत्काल सच्याउनुपर्ने माग गरेका छन् । सांसद साउदले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै एनजीओको जसरी राजदूत छनोट गर्न लागेको भन्दै आपत्तिसमेत जनाए ।

बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद साउदले नेपालले आफ्नो कूटनीतिलाई परिपक्व र भरपर्दो बनाउनुपर्ने बेलामा शक्तिशाली ११ राष्ट्रमा रहेका राजदूतहरू फिर्ता बोलाएको बताए ।

उनले सरकारले राजदूत फिर्ता गर्दा अन्तर्राष्ट्रिय र कूटनीतिक क्षेत्रमा नेपालको विश्वसनीयता घटेको बताए । सत्ता गठबन्धनका बीचमा भागबण्डा गरेर राजदूत नियुक्त गर्दा केहीले पद अस्वीकार गरेको र केहीले राजदूत नियुक्तिका लागि विज्ञापन गर्नुले देशको प्रतिष्ठामाथि आँच पुगेको बताए ।

‘केही राजनीतिक दलहरूले सरकारले नियुक्त गर्नुपर्ने यस्तो गम्भीर विषयलाई एनजीओमा मान्छे छनोटको विषयवस्तुजस्तो बनाएर सूचना र विज्ञापन निकालेर सार्वजनिक रूपमा राजदूत चयन गर्दैछन्, दलहरूले विज्ञापन निकालेर,’ सांसद साउदले भने, ‘यसले नेपालको कूटनैतिक अस्मिता, मर्यादा र विश्वमा हाम्रो प्रतिष्ठामाथि आँच पुगेको छ । त्यसकारण सरकारले आफ्नो निर्णयलाई सच्याउनुपर्छ । फिर्ता लिनुपर्छ ।’

उनले नेपालको कूटनीतिक क्षमता र विश्वसनीयतासित नखेल्न सरकारसँग आग्रह पनि गरे ।

फरक प्रसंगमा उनले बीआरआई परियोजना कार्यान्वयनका सम्बन्धमा सरकारले गरेको पहल स्पष्ट रूपमा भन्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर