मनसुनजन्य विपद्का कारण १३ जनाको मृत्यु

केही दिनयता सक्रिय यस वर्षको मनसुन र त्यसले निम्त्याएको विपद्का कारण हालसम्म १३ जनाको मृत्यु भएको छ । अविरल वर्षा, बाढी, पहिरो र चट्याङबाट १३ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको हो ।

नौ जनाको पहिरोबाट र चार जनाको चट्याङबाट ज्यान गएको हो । मृत्यु हुनेमा सबैभन्दा बढी लमजुङका छन् ।

मंगलबार राति लमजुङको क्व्होलासोथार गाउँपालिका–३, बगुममा पहिरोले घर बगाउँदा एक परिवारका ४ जना बेपत्ता भएका थिए । तीमध्ये ६७ वर्षीय रूद्रमान गुरूङको शव बिहानै फेला परेको थियो । बाँकी तीनजना पनि मृत फेला परेका हुन् । मृत फेला पर्नेमा ३६ वर्षीय पञ्चकुमारी गुरूङ र उनका दुई जना छोरीहरू ८ वर्षिया इच्छा गुरूङ र ४ वर्षिया नम्रता गुरूङ रहेका छन्।

लमजुङकै दोर्दी गाउँपालिका–९, धैरेनी बस्ने रामकाजी सुनारको घरको माथिबाट पहिरो खसेर घरमा सुतिरहेका उनको छोरा १६ वर्षीय विकल सुनारको गए राति मृत्यु भएको छ ।

पहिरोले पुरिएर गम्भीर घाइते भएका उनको लमजुङ अस्पताल लमजुङमा उपचारको क्रममा मृत्यु भएको हो । साथै पहिरोमा परेर घाइते भएका १८ वर्षीय मिलन सुनारको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै कास्कीमा पहिलोमा परी दुई जनाको मृत्यु भएको छ । मादी गाउँपालिका–५, चितेपानी घुम्तीमा पहिरोमा पुरिएर १३ वर्षीया आयुस्मा रानाभाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ । उक्त घटनामा ७० वर्षीया हजुरआमा लालमाया बन्जाराको उद्धार गरिएको छ ।

यस्तै पोखरा महानगरपालिका–२७, आरूपाटामा ३१ वर्षीय हरि सुनारको दुई कोठाको कच्ची घर पहिरोले भत्किँदा उनका तीन वर्षीय छोरा अनमोलको मृत्यु भएको छ । उक्त घटनामा सुनारकी श्रीमती २७ वर्षीया रितु सुनार घाइते भएकी छन् । हरि र उनका नौ वर्षीया छोरी अञ्जलीको सकुशल उद्धार गरिएको छ ।

यस्तै चट्याङबाट कपिलवस्तु र कैलालीमा दुई–दुई जनाको ज्यान गएको छ ।

कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं. ६, भैसाहीयाका २२ वर्षीय महेश कलवार र बुद्धभुमि नगरपालिका वडा १० प्रेम नगरका १८ वर्षीय राजु ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उता कैलालीको धनगढी उपमहानगरपालिका–१८ का २७ वर्षीय सलिम चौधरी जोशीपुर गाउँपालिकाका जयराम डगौँराको मृत्यु भएको प्रहरीले जनाएको छ । दवै जना पानी परेपछि आ–आफ्नै ठाउँमा खेतमा काम गरिरहेका थिए ।

जोशीपुरका डगौरा खेतमा काम गरिरहेकै अवस्थामा परेको चट्याङले घटनास्थलमै मृत्यु भएको थियो भने धनगढीका चौधरी चट्याङ लागेर घाइते भएका थिए ।

धनगढीस्थित सेती प्रादेशिक अस्पताल उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उता पहिरोबाटै ओखलढुंगामा एक जनाको मृत्यु भएको छ चिशंखुगढी गाउँपालिका–५ स्थित थुम्की बस्ने ३९ वर्षीय बाबुराम खत्रीको घर र गोठ पुरिएर खत्रीकी श्रीमती ३५ वर्षीया देवकुमारी खत्रीको मृत्यु भएको हो । उनकी १८ वर्षीया मेनुका खत्री घाइते भएकी छन् ।

उता मोरङ र सुनसरीको सिमानामा पर्ने बुढी खोलाको बाढीले एकै परिवारका चार जनालाई बगाएको छ । मंगलबार दिउँसो माछा मार्ने क्रममा सुन्दरहरैँचा नगरपालिका–५ का एकै परिवारका चारजना बगेकामा एकको मृत्यु भएको हो ।

फुदनी भन्ने २२ वर्षीया प्रेमकला चौधरीको निधन भएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ ।

बढीले बगाउँदा सो परिवारका दुई जना बेपत्ता छन् । बेपत्ता हुनेमा ६० वर्षीया असरादेवी चौधरी र अन्दाजी २५ वर्षीया जेठी बुहारी फुला चौधरी रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *