टी-२० विश्वकप : बिहीबार बिहानदेखि सुरू हुने सेमिफाइनल खेलको यस्तो छ तालिका
जारी टी-२० विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा भारत, अफगानिस्तान, दक्षिण अफ्रिका र इङ्ल्याण्ड पुगेका छन् ।
सुपर आठको समूह १ बाट भारत र अफगानिस्तान सेमिफाइनलमा पुगेका छन् भने अस्ट्रेलिया र बंगलादेश बाहिरिएका छन् । त्यस्तै समूह २ बाट दक्षिण अफ्रिका र इङ्ल्याण्ड सेमिफाइनलमा पुगेका छन् भने वेस्ट इन्डिज र अमेरिका बाहिरिएका छन् ।
अब सेमिफाइनलका दुवै खेल बिहीबार हुने छन् । बिहीबार बिहान पहिलो सेमिफाइनल खेल दक्षिण अफ्रिका र अफगानिस्तानबीच हुने छ । ट्रिनाडस्थित ब्रायन लारा स्टेडियममा हुने पहिलो सेमिफाइनल खेल नेपाली समयअनुसार बिहान ६:१५ बजेदेखि सुरू हुने छ ।
दक्षिण अफ्रिका सुपर आठमा तीनै खेल जितेर सेमिफाइनलमा पुगेको हो भने अफगानिस्तान अस्ट्रेलिया र बंगलादेशलाई हराउँदै सेमिफाइनलमा पुगेको हो । यस विश्वकपमा दुवै देशको यात्रा रोचक छ ।
दक्षिण अफ्रिका अहिलेसम्म अपराजित रहे पनि सबै खेलमा संघर्षपूर्ण जित हासिल गर्दै सेमिफाइनलसम्म पुगेको छ भने अर्कोतर्फ अफगानिस्तानले समूह चरणमा न्युजिल्याण्ड र सुपर आठमा अस्ट्रेलियालाई पराजित गरेर सेमिफाइनलमा पुगेको छ ।
त्यस्तै दक्षिण अफ्रिका १० वर्षपछि विश्वकपको सेमिफाइनलमा पुगेको छ । यसअघि सन् २०१४ को विश्वकपमा दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेको थियो । त्यसअघि सन् २००९ को विश्वकपमा सेमिफाइनलमा पुगेको थियो । दक्षिण अफ्रिका विश्वकपमा अहिलेसम्म सेमिफाइनलभन्दा अगाडि बढ्न सकेको छैन ।
त्यस्तै अफगानिस्तान भने इतिहास बनाउँदै पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुगेको छ ।
दक्षिण अफ्रिका र अफगानिस्तानबीच अहिलेसम्म २ टी-२० खेल भएका छन् । जसमा दुवै खेल दक्षिण अफ्रिकाले जितेको छ ।
त्यसैगरी दोस्रो सेमिफाइनल खेल भारत र इङ्ल्याण्डबीच हुने भएको छ । गुयनास्थित प्रोभीडेन्स स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार राति ८:१५ बजेदेखि सुुरू हुने छ ।
भारत यस विश्वकपमा अपराजित हुँदै सेमिफाइनलसम्म पुगेको छ भने इङ्ल्याण्डले पनि अहिलेसम्म उत्कृष्ट खेल देखाउँदै सेमिफाइनलमा पुगेको छ । इङ्ल्याण्ड समूह चरणमा अस्ट्रेलियासँग र सुपर आठमा दक्षिण अफ्रिकासँग पराजित भएको थियो ।
भारतले २००७ को टी-२० विश्वकपको पहिलो संस्करण जितेपछि अहिलेसम्म विश्वकप जित्न सकेको छैन । सन् २०१४ मा उपविजेता बनेको भारत पछिल्लो विश्वकपमा सेमिफाइनलबाट बाहिरिएको थियो । त्यस्तै इङ्ल्याण्डले भने सन् २०१० र २०२२ को विश्वकप जितेको थियो ।
भारत र इङ्ल्याण्डबीच अहिलेसम्म २३ टी-२० खेल भएका छन् । जसमा भारतले १२ र इङ्ल्याण्डले ११ खेल जितेका छन् ।
स्रोत : आईएनएस-स्वतन्त्र समाचार
प्रतिक्रिया