लागुऔषधको विकराल समस्या नियन्त्रण गर्न विशेष कार्यक्रम ल्याउँदैछौं : गृहमन्त्री लामिछाने
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले लागुऔषधको समस्या विकराल भएको बताएका छन् ।
बुधबार लागुऔषध ओसारपसारविरूद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले लागुऔषधको समस्या विकराल भएको कुरा गृहमन्त्रीको पदभार ग्रहण गरेपछि झनै बढी महसुस भएको बताए ।
उनले लागुऔषधको दुर्व्यसनीमा युवाहरू फसेपछि देशको दुर्गति सुरू हुने भन्दै सबै मिलेर यसको नियन्त्रणमा लाग्नुपर्नेमा जोड दिए ।
देशमा रोजगारी नपाएर विदेश गएका कतिपय युवाहरू लागुऔषधको दर्व्यसनीमा फसेको गृहमन्त्री लामिछानेले बताए ।
‘लागुऔषधको समस्या विकराल भएको कुरा मैले पदभार ग्रहण गरेपछि अझ बढी महसुस गरेँ । लागुऔषधको दुर्व्यसनीमा युवाहरूलाई फसाइदिइसकेपछि त्यो देशको दुर्गति सुरू हुन्छ,’ गृहमन्त्री लामिछानेले भने, ‘युवाहरू देशमा रोजगारी नपाएर विदेश गएका छन् । कयौं लागुऔषधको दुर्व्यसनीमा फसेका छन् । यसका लागि जनचेतनामूलक कार्यक्रमहरू पनि चलेका छन् ।’
उनले लागुऔषधको दुर्व्यसनी नियन्त्रणका लागि चलिरहेका अभियानहरूमा पनि कतिपयले इमानदारितापूर्वक काम नगरेको भन्दै गृह मन्त्रालय नरममा अति नरम र गरममा अति गरम हुने बताए । लागुऔषध बेचबिखन गर्नेहरूलाई सरकारले कुनै पनि हालतमा नछाड्ने उनले बताए ।
उनले सिनेममा देखाए झैं लागुऔषधको प्रयोग नगर्न आग्रह गर्दै जीवन तीन घण्टाको सिनेमा नभएको बताए । आफ्ना अभिभावको दुःखलाई हेरेर आफ्ना व्यवहार अघि बढाउन उनले आग्रह गरे ।
गृहमन्त्री लामिछानेले मधेसमा मात्र नभई पहाडी जिल्लाहरूमा समेत लागुऔषधको दुर्व्यसनी फैलिएको बताए । उनले लागुऔषधको दुर्व्यसनी नियन्त्रणका लागि गृह मन्त्रालयले विशेष कार्यक्रम ल्याउन लागेको बताए । यसका लागि राष्ट्रिय नीतिमा काम गरिरहेको र त्यसको ड्राफ्ट बनाइरहेको उनले जानकारी दिए ।
प्रतिक्रिया