वायुसेवा निगमका अध्यक्षसहित पाँचजना निलम्बित

अनुमति नै नलिई वाइडबडी जहाज एयबरस–३३० सि–चेकका लागि इटाली पठाएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसहित पाँचजनालाई सक्रिय ड्युटीबाट निलम्बन गरेको छ । प्रचलित ऐन, कानुन, आदेश तथा निर्देशन पालना नगरी गैरजिम्मेवार कार्य गरेको भन्दै क्यानले अध्यक्ष अधिकारीलाई ‘एकाउन्टेबल म्यानेजर’को सक्रिय जिम्मेवारीबाट हटाएको हो ।

निगमको उच्च व्यवस्थापनबाटै हवाई सुरक्षामा गम्भीर खेलाँची भएपछि एक्सनमा उत्रिनुपरेको क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । अध्यक्ष अधिकारीले जहाजको सि–चेक गर्न क्यानको सामान्य प्रक्रिया पूरा गर्न अटेरी गर्दा निगमका अपरेसन डाइरेक्टर वरिष्ठ क्याप्टेन दिपु जुहार्चन, कन्टिन्युइङ एयरवर्दिनेस मेन्टिनेन्स अर्गनाइजेसन म्यानेजर ज्ञानबहादुर कुँवर, क्याप्टेनद्वय रमन घिमिरे र महेश्वरमान डंगोल पनि निलम्बनमा परेका छन् । यस विषयमा अन्तिम निर्णय नहुँदासम्म सम्बन्धित व्यक्तिहरूले आफ्नो पोजिसनमा बसेर पदीय जिम्मेवारी निर्वाह गर्न नपाउने भुलले बताए ।

सि–चेकका लागि क्यानसँग अनुमति नै नलिई जहाज पठाएको क्यानले जनाएको छ । निगम व्यवस्थापनले ९एन–एएलवाई कलसाइनको वाइडबडी जहाज सि–चेकका लागि इटाली पठाउँदा कानुनी प्रक्रिया पूरा नगरेको क्यानको आरोप छ । निगमले २२ जुलाईमा नियमित उडानबाट जहाज दुबई लगेको र उतैबाट इटाली पुर्‍याएको क्यानको जिकिर छ । नागरिक उड्डयन नियमावली, २०५८ अनुसार  क्यानबाट एओसी प्राप्त गरेको वायुसेवा कम्पनीले आफ्ना जहाजको मर्मत–सम्भार गर्न पठाउँदा क्यानको अनुमति लिनुपर्छ । सि–चेक गर्ने एयरक्राफ्ट मेन्टेनेन्स अर्गनाइजेसन (एएमओ)ले पनि क्यानबाट इजाजत प्राप्त गर्नुपर्ने व्यवस्था छ ।

‘न निगम नेतृत्वले सि–चेकका लागि अनुमति लिएको छ, न एएमओ छनोट भएको इटालियन कम्पनीले इजाजत लिएको छ,’ सूचना अधिकारी भुलले भने, ‘जहाजको सि–चेकका लागि आवश्यक कानुनी प्रक्रिया पूरा नगरेकाले कारबाही प्रक्रिया अगाडि बढाइएको हो ।’ वायुसेवा कम्पनीले कुन जहाज, कहाँ लगेर सि–चेक गर्ने, पहिल्यै अनुमति लिनुपर्छ । त्यो जहाज चेक गरेपछि फेरि क्यानले नै अथोराइज्ड गर्ने व्यवस्था छ । यसैले एएमओ कम्पनीले पनि क्यानबाट सि–चेकका लागि इजाजत लिनुपर्ने हुन्छ ।

वाइडबडी ९एन–एएलवाई कलसाइनको जहाज १० असारमा सि–चेक गर्ने तालिका थियो । निगम नेतृत्वले अन्तिम समयमा हतार–हतार इटालियन कम्पनी एटिटेक एसपिएलाई सि–चेकका लागि एएमओ छनोट गरेको थियो । सो कम्पनीले अहिलेसम्म जहाजको सि–चेकका लागि निवेदन नै नदिएको क्यानका सूचना अधिकारी भुलले बताए । उनका अनुसार जहाज मर्मत–सम्भार तथा सि–चेकका लागि विदेशी कम्पनीले सबैभन्दा पहिला क्यानमा निवेदन दिने र महानिर्देशकले आवश्यक अध्ययन गरेर मान्यता दिनुपर्ने व्यवस्था छ ।

‘न निगमले जहाजको सि–चेकका लागि अनुमति लिएको छ, न इटालियन कम्पनीले इजाजत मागेको छ, निगमले बठ्याइँ गरेर नियमित उडानबाट जहाज दुबई लग्यो, उतैबाट इटाली लगेर अलपत्र छाडेको छ,’ क्यानका सूचना अधिकारी भुलले भने, ‘यदि काठमाडौंबाट सीधै इटाली जान लागेको भए हामीले काठमाडौंमै उडान रोकिदिने थियौँ, यहाँ काठमाडौं–दुबई नियमित फ्लाइट रोक्ने पनि कुरो भएन ।’ निगम नेतृत्वले जहाज इटालीमा पार्किङ गरेर अनुमतिका लागि क्यानसँग ब्ल्याकमेलिङ गरिरहेको उनको भनाइ छ । उनले थपे, ‘क्यानको नियमावली र ऐन–कानुनविपरीत हुने गरी अनुमति दिने कुरा पनि भएन । निगमले विदेशमा जहाज थन्क्याएर क्यानले अनुमति दिएन भन्दै हौवा फैलाइरहेको छ ।’

निगमले यस विषयमा छानबिन गर्न आन्तरिक समिति गठन गरेको छ । छानबिन किनारा नलागेसम्मका लागि पाँचजनालाई आफ्नो पोजिसनमा बसेर पदीय दायित्व निर्वाह गर्न नपाउने भुलले बताए । निगको अर्को वाइडबडी कलसाइन ९एन–एएलजेड ११ साउनमा नियमित मर्मत–सम्भार (सि–चेक) गर्ने कार्यतालिका छ । नियामक निकाय क्यानका अनुसार जहाजको ‘सी चेक’ गर्ने तालिका दुई वर्षअघि नै जानकारी हुन्छ । निगम नेतृत्वले पनि सोहीबमोजिम पहिल्यै एएमओ कम्पनी छनोट गर्नुपर्नेमा अन्तिम समयमा हतार–हतार इटालियन कम्पनी एटिटेक एसपिएलाई सि–चेकको जिम्मेवारी दिएको बताइन्छ ।

निगम भन्छ– क्यानबाट एमआरओ प्रमाणीकरण भएपछि मर्मत गर्ने गरी जहाज इटाली पठाएका हौँ
नेपाल वायुसेवा निगमले क्यानबाट एमआरओ प्रमाणीकरण प्राप्त भएपछि मर्मत कार्य सुरु गर्ने गरी २३ जुनमा दुबईबाट इटालीको नेपल्सस्थित मर्मत कम्पनीमा जहाज अवतरण गरेको बताएको छ । निगमले सोमबार विज्ञप्ति जारी गर्दै ९एन–एएलवाईको सि–चेक मर्मत २६ जुनभित्र सुरु गर्नुपर्ने, समय निकै कम भएको हुनाले सि–चेकलाई दुई महिना पछाडि सार्न २ जुनमा क्यानलाई अनुरोध पत्र पठाएको, तर क्यानले ११ जुनमा थप कागजात माग गरेकोमा २२ जुनसम्म स्वीकृति नआइसकेको हुँदा एमआरओले दिएको मेन्टेनेन्स स्लटको समय सकिएर फेरि स्लट पाउने निश्चित नहुने स्थिति भएकाले इयूको नियमानुसार ‘मर्मत–सम्भारका लागि मात्र उडान’ भनेर क्यानबाट एमआरओ प्रमाणीकरण प्राप्त भएपछि मर्मत कार्य सुरु गर्ने गरी चालक दलका पाँच सदस्यले जहाज इटाली पुर्‍याएको बताएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘इटालीको एटिटेक कम्पनीले आफूसँग भएको इएएसएको एप्रुभललाई क्यानको नियमानुसार प्रमाणीकरण लिनुपर्ने र सोका लागि आवश्यक प्रक्रिया अगाडि बढिसकेको छ ।’ जहाजको सि–चेकका लागि निगमले तीनपटकसम्म टेन्डर आह्वान गरेको, मूल्यांकन उपसमितिले प्राप्त टेन्डरहरूको बढी अंक प्राप्त गरेको र आर्थिक दृष्टिकोणले सबैभन्दा प्रतिस्पर्धी इटालीको नेपल्सस्थित एटिटेक एसपिएसलाई मर्मत कम्पनीलाई छनोट गर्न निगमका कार्यकारी अध्यक्षलाई १४ जुनमा सिफारिस भएको बताइएको छ ।यो समाचार नयाँपत्रिका दैनिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *