महासेनानीद्वय लामिछाने र शर्मा सेनाको हायर कमाण्ड तालिममा सर्वोत्कृष्ट

नेपाली सैनिक वार कलेजले सञ्चालन गरेको सि.सं. १२ हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम मंगलबार सकिएको छ ।

महासेनानी सुरज लामिछाने समग्रमा तालिममा प्रथम (बेस्ट स्टुडेन्ट अफिसर) हुनुका साथै उनले बेस्ट एकेडेमिक राइटिङ अवार्ड समेत प्राप्त गरे । त्यस्तै गरी महासेनानी खेमराज शर्मा व्यक्तिगत शोधपत्रमा प्रथम भए ।

प्रधानसेनापति प्रभुराम शर्माले एक कार्यक्रमबीच तालिम समापन गरेका छन् । तालिम गत फागुन १८ देखि सञ्चालन भएको थियो । प्रधान सेनापति शर्माले सफलतापूर्वक तालिम सम्पन्न गरेकामा शिक्षार्थी अधिकृतहरूलाई बधाई दिए ।

राष्ट्रको भू–रणनीतिक अवस्थिति, भूमण्डलीकरण र अन्य विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारक तत्वहरूका कारण विकसित समसामयिक जटिल सुरक्षा वातावरणमा आफूलाई प्राप्त सैनिक जिम्मेवारी पेसेवर ढंगबाट सम्पन्न गर्न उच्च तहका सैनिक कमाण्डर तथा स्टाफहरूलाई आवश्यक पर्ने विशिष्ट ज्ञान, सीप र मनोवृत्तिको विकास गर्न तालिमको महत्वपूर्ण भूमिका रहेको उनले बताए ।

संस्थाको बृहत्तर हितका अगाडि व्यक्ति सदैव गौण हुने हुँदा संसारभरका सेनामा स्थापित मान्यता चेन अफ कमाण्डअनुरूप एक ढिक्का भई राष्ट्रिय स्वार्थ अनुरूप कार्य गर्न उनले निर्देशन दिए ।

तालिममा प्राविधिक तथा विविध सेवाका ८ जना र साधारण सेवाका २७ जना गरी ३५ जना (महिला–३ र पुरुष–३२) महासेनानी दर्जाका शिक्षार्थी सहभागी थिए ।

नेपाली सेनामा सैनिक अधिकृतहरुका लागि सञ्चालन हुने सबैभन्दा उच्चस्तरको यस तालिम २०७१ सालदेखि सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर