दुई करोड लुटपाटमा प्रहरी हवल्दार पनि पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरको दधिकोटका डिल्लीराज राउतको घरबाट दुई करोड रूपैयाँ लुटपाट आरोपमा पक्राउ गरेका चारमध्ये एक जना नेपाल प्रहरीका हवल्दार रहेको खुलेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार नेपाल प्रहरीको ‘सशस्त्र प्रहरी दुई नम्बर गण महाराजगञ्ज’ मा कार्यरत ३८ वर्षीय प्रहरी हवल्दार कृष्णबहादुर बोहरा सो घटनामा पक्राउ परेका हुन् । हवल्दार बोहरा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-२ का हुन् ।

पक्राउ पर्ने अन्यमा ओखलढुङ्गाको मानेभन्ज्याङ-३ घर भई हाल ललितपुर बस्ने ३५ वर्षीय मोनाराज राई, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ का ३१ वर्षीय भीमबहादुर तामाङ र सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-२ का ३१ वर्षीय सुजन रसाइली छन् ।

याे पनि : भक्तपुरमा २ करोड लुटपाट गर्ने ४ जना पक्राउ, मुख्य योजनाकार नै मामा !

पक्राउ परेकाहरूलाई प्रहरीले मङ्गलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । उनीहरू यही असार ४ गते आफूहरू नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा आबद्ध रहेको बताउँदै राउतको घरभित्र प्रवेश गरी धम्क्याएर दराजमा राखेको दुई करोड रूपैयाँ लुटेर फरार भएका थिए ।

यस लुटपाटका मुख्य योजनकार पीडित राउतका मामा कुलबहादुर खत्री रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । तर, खत्री भने अझै फरार छन् ।

प्रहरीका अनुसार खत्रीलाई राउतको घरमा ठूलो मात्रामा रकम रहेको जानकारी थियो । त्यस आधारमा खत्रीले वैदेशिक रोजगारको काम गर्ने सिलसिलामा चिनेका सुजन रसाइलीलाई उक्त कुरा जानकारी गराई लुट्ने योजना बनाएको र अन्यसहित मिलेर लुटपाट गरेको पाइएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *