एकीकृत समाजवादीमा को बन्ला अध्यक्ष र महासचिव ?

एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशन यही असार १६–२० मा काठमाडौंमा हुँदै छ । महाधिवेशन नजिकिँदै गर्दा अध्यक्ष र महासचिव पदका लागि अहिले पार्टीभित्र चर्को प्रतिस्पर्धा देखिएको छ ।

एमालेबाट विभाजन भएर बनेको एकीकृत समाजवादीको अध्यक्षमा तीन जना दाबेदार छन् । नयाँ पार्टी भए पनि यसका अध्यक्षका प्रतिस्पर्धी भने नेपाली राजनीतिका पुरानै अनुहार छन् । हालसम्म अध्यक्षका लागि प्रतिस्पर्धीको नाम औपचारिक घोषणा भइसकेको छैन ।

तर, नेपाली राजनीतिमा चार दशकदेखि सक्रिय झलनाल खनाल र वर्तमान अध्यक्ष माधवकुमार नेपालबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । उनीहरुलाई दोस्रो पुस्ताका महासचिव घनश्याम भुसालले चुनौती दिने भएका छन् ।

यी नेताहरुले अध्यक्षमा उठ्नका लागि तयारी गरिरहेको र नेता तथा कार्यकर्तालाई आफू उम्मेदवार हुने सन्देश दिएको समाजवादीका एक नेताले बताए । खनाल, नेपाल कुनै बेला एमालेको महासचिव, अध्यक्ष भइसकेका नेता हुन् । भुसाल पनि लामो समयदेखि प्रमुख नेताको रुपमा रहँदै आएका छन् ।

वर्तमान अध्यक्ष नेपाल पुनः सर्वसम्मत रुपमा आफू अध्यक्ष बन्ने कसरतमा छन् । २०७८ मा एमालेबाट विद्रोह गरेर पार्टी गठन गरेकाले आफूलाई एक कार्यकाल दिन उनले अर्का नेता खनाललाई आग्रह गरेका छन् । यसबारेमा छलफल गर्न दुई नेताबीच भेटवार्ता हुँदै आएको छ ।
तर, खनालले भने आफू अध्यक्षको प्रतिस्पर्धाबाट नहट्ने अडान राखेका छन् । नेपालको नेतृत्वले पार्टीलाई बलियो बनाउन नसकेको, निर्वाचनमा अपेक्षिण परिणाम ल्याउन नसकेको भन्दै उनले आफूलाई सर्वसम्मत अध्यक्ष चयन गर्नुपर्ने बताएका छन् ।

हालका महासचिव भुसालले नेतृत्व पुस्तान्तरण हुनुपर्ने मत राखेका छन् । पुराना नेतृत्वले अवसर पाइसकेको र अब अर्को पुस्तालाई नेतृत्व दिनुपर्ने उनको भनाइ छ । पार्टीलाई नयाँ गति दिन आफ्नो नेतृत्व आवश्यक भएको भुसालले आफूनिकट नेताहरुलाई बताउने गरेका छन् । भुसाल २०७८ मंसिरमा भएको एमालेको दशौं महाधिवेशनमा उपाध्यक्ष पदमा पराजित भएका थिए । त्यसपछि उनी एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

एकीकृत समाजवादीमा महासचिवका लागि पनि चर्को प्रतिस्पर्धा छ । महासचिवका आकांक्षीहरुमा उपमहासचिवहरू डा.विजय पौडेल, डा.गंगालाल तुलाधर, प्रकाश ज्वाला र जगनाथ खतिवडा छन् । खतिवडा पार्टी प्रवक्ता र प्रचार विभाग प्रमुख हुन् । उनी अध्यक्ष नेपाल निकट मानिन्छन् ।

कोशीका पूर्व मुख्यमन्त्री तथा एकीकृत समाजवादीका सचिव राजेन्द्र राई पनि महासचिवको दाबेदार छन् । महासचिवको दाबेदारमा रामकुमारी झाँक्री छिन् । उनी हाल एकीकृत समाजवादीको सचिव हुन् ।

महाधिवेशनमा १ हजार ८ सय ७८ प्रतिनिधि सहभागी हुने जनाइएको छ । ४ सय २५ महिला, १ सय ५० दलित र खुला १ हजार ३ सय ३ प्रतिनिधि छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर