जिबि राईलाई नेपाल ल्याउन सरकार सफल हुने कुरामा विश्वस्त छु : गृहमन्त्री लामिछाने

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा मुछिएका जिबि राईलाई नेपाल झिकाउन मलेसियाका गृहमन्त्रीसँग कुराकानी गरेर प्रक्रिया अगाडी बढाइएको बताएका छन् ।

सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले राज्यका निकायले गरेको अनुसन्धानबाट जिबि राई मलेसियामा रहेको तथ्य पत्ता लागेको भन्दै उनलाई नेपाल झिकाउने सन्दर्भमा मलेसियाका गृहमन्त्रीसँग दुई पटक कुराकानी गरिसकेको बताए । उनले कानूनी माध्यमबाट नै समस्याको हल गर्नुपर्ने भन्दै दुवै तर्फका राज्य संयन्त्र संवादमा रहेका बताए । संवादको क्रममा मलेसिया सरकार सकारात्मक देखिएको र माग गरे अनुरुपको कागजात नेपालबाट पठाइएको पनि जानकारी दिए । जिबि राईलाई नेपाल ल्याएर पीडितको बचत फिर्ता गराउने वातावरण बनाउन सरकार प्रतिवद्ध रहेको बताए । मन्त्री लामिछानेले आफूमाथि लागेको लाञ्छनाबाट मुक्ति पाउनका लागि पनि राईको पक्राउ आफ्नो लागि व्यग्र प्रतिक्षाको विषय बनेको बताउनु भयो । उहाँले राईलाई नेपाल ल्याउन सरकार सफल हुने कुरामा विश्वस्त रहेको बताए ।

उनले भने– ‘विभिन्न अनुसन्धानबाट राज्यका निकायले अहिले उनी(जिबी राई) मलेसियामा रहेको तथ्य पत्ता लगाएका छन् । उनलाई पक्राउ गरेर नेपाल ल्याउने विषयमा मैले त्यहाँका गृहमन्त्रीज्युसँग दुई पटक टेलिफोनमा कुराकानी गरेको छु । दुवैतर्फका राज्यस्तरिय संयन्त्रहरु संवादमा छन् र यि दुवै देश कानुनी राज्य भएका देश भएका हुनाले हामीले कानुनी माध्यमबाट नै समस्याको हल गर्नुपर्ने कुरा जानकारी गराउन चाहान्छु । नेपाल र मलेसियाबिच सुपुर्दगी सन्धी नभएपनि मलेसियाको सुपुर्दगी ऐन अन्तर्गत सन्धी नभएका मुलुकको अनुरोधमा आरोपितलाई सुपुर्दगी गर्न सक्ने व्यवस्था अन्तर्गत निरन्तर काम भइरहेका छन् । मलेसियाका गृहमन्त्रीसँगको दुईपटकको वार्ता जसमा सकारात्मक जवाफ मलेसिया सरकारको आग्रह बमोजिमका कागजपत्रहरु पठाउने क्रमको निरन्तरता, जिबि राईको राहदानी खारेजी प्रक्रियाहरु अगाडी बढाइए पनि राहदानी विभाग र अदालतले इन्कार गरिदिएको तथ्य हाम्रा कानूनी प्रावधान अनुसार अन्य जटिलता यसका कारणहरु हुन् । तर अनेकौँ प्रयासहरु निरन्तर जारी रहेका छन् । जिबि राईलाई नेपाल ल्याएर पीडितको बचत फिर्ता गराउने वातावरण बनाउन सरकार प्रयासरत छ । प्रतिवद्ध छ । निरन्तर रुपमा लाग्दै आएका लाञ्छनाबाट मुक्ति पाउन, सत्यतथ्य उद्घाटित हुन व्यक्तिगत रुपमा मेरा लागि पनि उनको पक्राउ व्यग्र प्रतिक्षाको विषय हो । केही कानूनी जटिलता पार गर्दै राजनीतिक र कुटनीतिक सम्बन्धमार्फत जिबि राईलाई नेपाल ल्याउन सरकार सफल हुने कुरामा म पूर्ण विश्वस्त छु ।’

गृहमन्त्री लामिछानेले प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो गिरिबन्धु टि स्टेटको उजुरी कुरेर बसेको बताए । उजुरी आएपछि कुनैपनि बेला यस सम्बन्धमा अनुसन्धान गर्न प्रहरी तयार रहेको बताए । उनले भने – ‘नेपाल प्रहरीले केन्द्रिय अनुसन्धान ब्युरोलाई गिरिबन्धु टि स्टेटका बारेमा उजुरी माग्नको निमित्त सदनमा कुरा उठ्नुभन्दा हप्ता दिन अगाडी नै मन्त्रालयले स्पष्ट निर्देशन दिइसकेको छ । र केन्द्रीय अनुसन्धान ब्युरो गिरिबन्धु टि स्टेटको उजुरीको प्रतिक्षा गरेर बसिरहेको छ । कुनै पनि समय, कुनैपनि बेलादेखि भएका विभिन्न किसिमका यि घटनाहरुका बारेमा नेपाल प्रहरी अनुसन्धान गर्न तत्पर भएर बसेको छ । कुनैपनि काण्डका विषयमा डराउनुपर्ने, नबोल्नुपर्ने, कुनैपनि फाइल नखोल्नुपर्ने एउटा पनि बाध्यता मेरो काँधमा छैन । मेरो शरीरमा छैन । यो कुरा म स्पष्ट पार्न चाहन्छु ।’

गृहमन्त्री लामिछानेले बजेट पास भएको दुई महिनाभित्र बिगतमा भएका २५ वटा काण्डहरुको फाइल तयार गर्नको निमित्त एउटा शक्तिशाली आयोग बनाउने बताए । उनले पतञ्जली आयुर्वेद कम्पनीको फाइल आजैबाट खुलेको पनि जानकारी दिए । उनले भूटानी शरणार्थीको बन्द भएको फाइल खुल्ने तयारीमा रहेको बताए । बालमन्दिर र स्काउटको फाइल बन्द नभएको पनि बताए । उनले बाँसबारीको फाइल बन्द नभएको र टिकापुरको फाइल खुलाउन काम भइरहेको पनि बताए ।

उनले भने,– ‘भुटानी शरणार्थीको बन्द भएको फाइल खुल्ने तयारीमा छ । बालमन्दिरको फाइल बन्द भएको छैन । स्काउटको फाइल बन्द भएको छैन । बाँसबारीको फाइल बन्द भएको छैन, खुलिसकेको छ । टिकापुरको फाइल खुलिरहेको छ । काम भइरहेको छ त्यसमा । बृहत जनकपुरको ९ हजार बिगाहा जग्गाको फाइल तयार हुने क्रममा छ । त्यो मात्रै होइन कुनैपनि कालखण्डमा भएका भ्रष्टाचारहरुलाई अनुसन्धान गर्नका निमित्त २५ वटा पुराना फाइलहरुलाई एकत्रित गर्दै एउटा शक्तिशाली आयोग गठन गर्ने बजेटको व्यवस्था यसैपटकको बजेटमा व्यवस्था भएको छ । बजेट पास भएको दुई महिनाभित्र विगतमा भएका २५ वटा काण्डहरुको फाइल तयार गर्नको निमित्त एउटा शक्तिशाली आयोग बन्न लागेको कुरा जानकारी गराउन चाहन्छु । भर्खरै अर्को फाइल खुलेको छ । पतञ्जली आर्युवेद कम्पनीको फाइल आजैबाट खुलेको कुरा सदनलाई जानकारी गराउन चाहान्छु ।’

मन्त्री लामिछानेले वृहत जनकपुरको ९ हजार बिगाहा जग्गाको फाइल पनि तयार हुने क्रममा रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *