बत्ती जाँदा राहदानी विभागको काम ठप्प, सेवाग्राहीलाई सास्ती

काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागमा बेलाबेलामा बत्ती गएर काम ठप्प हुँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको छ ।

विभागले बत्ती जाँदाको अवस्थामा भरपर्दो वैकल्पिक व्यवस्था गर्न नसक्दा सेवा नै ठप्प भई सेवाग्राहीले असुविधा भोग्नुपरेको हो । सोमबार दिउँसो पनि २ घन्टादेखि बत्ती गएको जनाउँदै विभागले काम ठप्प पारेको एक सेवाग्राहीले गुनासो गरे ।

फोटो खिच्ने र बायोमेट्रिक दिनेहरुलाई समस्या भइरहेको उनले पर्दाफासलाई बताए । काउन्टरमा समेत बत्ती नभएको र कम्प्युटर नचलेको भन्दै काम रोकिएको उनले जानकारी दिए ।

‘राहदानीका लागि इमर्जेन्सी भएकाहरु नै विभागमा आउने हुन् । यसैका लागि प्रतिव्यक्ति १२ हजार रुपैयाँ लिने गरिएको छ । तर, इमर्जेन्सी सेवाको यस्तो बिचल्ली छ,’ ती सेवाग्राहीले पर्दाफाससँग भने, ‘सधैं प्राविधिक समस्या हुने भए केको इमर्जेन्सी सेवा त ?’

विभागका निर्देशक तथा प्रवक्ता रमेश कुमार चर्मकारले बत्ती जाँदा विभागको काममा समस्या देखिएको बताए । बत्ती जाँदा जेनेरेटरको व्यवस्था भए पनि त्यसमा पनि समस्या आएको उनले जानकारी दिए ।

‘बत्ती आउने जाने भइरहँदा जेनेरेटरमा पनि समस्या देखिएर काम रोकिएको हो । विभागले टिमले समस्या समाधानको प्रयास गरिरहेको छ,’ उनले पर्दाफासलाई भने, ‘ब्याकअप नै नभएको भन्ने होइन, तर आज ब्याकअपमा नै समस्या देखिएको छ ।’ उनले सेवाग्राहीलाई ४८ घन्टाभित्र राहदानी वितरण भइरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर