गृहसचिव र आईजीपीको टोली यूएनकप्स समिटमा सहभागी हुन अमेरिका प्रस्थान

गृहसचिव एक नारायण अर्याल नेतृत्वको ५ सदस्यीय नेपाली प्रतिनिधि मण्डल संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय अमेरिकाको न्यूयोर्कमा असार १२ देखि १३ सम्म संचालन हुने चौथो युनाइटेड नेशन्स चिफ्स अफ पोलिस समिट (यूएनकप्स) मा सहभागी हुन सोमबार त्यसतर्फ प्रस्थान गरेको छ ।

गृह सचिव अर्यालसँग उक्त समिटमा सहभागी हुन प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक समेत त्यसतर्फ प्रस्थान गरेका छन् ।

गृह सचिव अर्यालको नेतृत्वमा रहेको टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू, गृह मन्त्रालयका पदाधिकारीहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले बिदाई गरेका हुन् ।

उक्त समिटमा शान्ति स्थापना, संघर्ष र हिंसाको रोक्ने लगायत एजेण्डामा छलफल हुने कार्यक्रम छ ।

सो अवसरमा गृह सचिव अर्याल समेतको प्रतिनिधि मण्डलले संयुक्त राष्ट्र संघका उपमहासचिवहरू, प्रहरी सल्लाहकार तथा संयुक्त राष्ट्र संघका उच्च पदस्थ अधिकृतहरू एवम् टर्की, फ्रान्स, युके, क्यानडा, युएसए, साउथ कोरिया, नाइजेरिया, घाना लगायतका देशका प्रतिनिधिहरूसँग दुई पक्षीय, बहुपक्षीय भेटघाट गरी संयुक्त राष्ट्र संघमा नेपाल प्रहरीको सहभागिता एवम् साझा सुरक्षाको विषयमा छलफल गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर