मुख्यसचिव अर्यालसहित १२ विरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव वैकुण्ठ अर्यालसहित ११ जन ना र एक कम्पनीसहित १२ विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । बहालवाला मुख्यसचिवविरुद्ध भ्रष्टाचार मुद्दा लागेको यो नेपालको पहिलो घटना हो । मुद्दा लागेसँगै अर्याल आफ्नो पदबाट स्वतः निलम्बित भएका छन् ।

अर्यालसहित सहसचिवद्वय रितेश शाक्य र टंक पाण्डे, उपसचिव गणेशविक्रम शाही, शाखा अधिकृत रविन्द्र पौडेल, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, केन्द्रका तत्कालीन लेखा अघिकृत विष्णुप्रसाद गौतम शाखा अधिकृत हरिवल्लभ घिमिरे, केन्द्रका तत्कालीन परामर्शदाता शक्तिप्रसाद श्रेष्ठलाई अख्तियारले प्रतिवादी बताएको छ ।

यस्तै, अन्तःशुल्क स्टिकर छाप्ने जिम्मा पाएको कम्पनी प्रिन्टसेल र यसका सञ्चालक केशव शर्माविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ । उनीहरुबाट जनही ६ करोड ८४ लाख रुपैयाँ असुल, जरिवाना तथा सजायको मागदाबी अख्तियारले गरेको छ ।

सञ्चारसचिव हुँदा अर्याल सुरक्षण मुद्रण केन्द्रबाट अन्तःशुल्क स्टिकर खरिद गर्ने निर्णयमा संलग्न रहेको अख्तियारले जनाएको छ ।

सुरक्षण मुद्रण केन्द्रबाट अन्तःशुल्क स्टिकर खरिद गर्ने क्रममा वास्तविक लागतभन्दा ४ गुणा बढीमा ठेक्का सम्झौता कायम गरिएको थियो । अधिकतम २५ पैसासम्म पर्ने स्टिकर ८९ पैसाका दरले छाप्ने गरी केन्द्र र प्रिन्टसेल प्रालिबीच २०७९ मंसिर २६ मा सम्झौता भएको थियो ।

सुरक्षण मुद्रण विकास समितिको अध्यक्षसमेत हुने सञ्चारसचिवको पदमा रहँदा अर्याल प्रिन्टसेललाई अग्रिम ५ करोड पेस्की दिने निर्णय प्रक्रियामा संलग्न थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर