दक्षिण कोरियाको राजदूतमा सिफारिस प्याकुरेलले गरे पद अस्वीकार

दक्षिण कोरियाका लागि नेपाली राजदूतमा सिफारिस भएका सुशील प्याकुरेलले पद अस्वीकार गरेका छन् । उनले आज एक विज्ञप्ति जारी गर्दै राजदूत पद अस्वीकार गरेको जानकारी दिएका हुन् ।

२०८१ असार ७ मा बसेको मन्त्रिपरिषदको बैठकको निर्णयअनुसार प्याकुरेललाई राजदूत पदमा सिफारिस गरिएको थियो । प्याकुरेलले राजदूत पदका लागि गरिएको सिफारिस फिर्ता लिन प्रधानमन्त्रीको कार्यालयलाई पत्र लेखेको पनि जानकारी दिएका छन् ।

उनले राजदूतमा सिफारिसअघि आफूलाई परराष्ट्र मन्त्रालयलगायत आधिकारिक निकायबाट कुनै जानकारी प्राप्त नभएको बताएका छन् ।

‘मलाई दक्षिण कोरियाको राजदूत पदमा सिफारिस गर्नुअघि परराष्ट्र मन्त्रालय वा मन्त्रिपरिषद सचिवालयबाट कुनै सम्पर्क वा संकेत समेत दिइएन । राजदूत जस्तो राष्ट्रको प्रतिनिधित्व गर्ने पदको जिम्मेवारी प्रदान गर्नुअघि सम्बन्धित व्यक्तिको पृष्ठभूमि, कार्यदक्षता, रुची, कूटनीतिको विषय र सम्बन्धित मुलुकको राजनीतिक, आर्थिक, सामाजिक स्थिति सम्बन्धी ज्ञानका विषयमा पूर्व विमर्श नगर्ने सरकारको प्रचलनबाट म आश्चर्यचकित छु,’ उनले विज्ञप्तिमा लेखेका छन् ।

उनले राजदूत नियुक्ति सम्बन्धी विगतमा सरकारले तय गरेको मापदण्ड र संसदीय सुनुवाइको औचित्य र राजदूतको कार्यकालका विषयमा समेत गम्भीर विमर्श आवश्यक रहेको बताएका छन् ।

‘आजै प्रधानमन्त्रीज्यूलाई सम्बोधन गर्दै सरकारले मप्रति देखाएको विश्वासका लागि धन्यवाद ज्ञापन गर्दै दक्षिण कोरियाको राजदूत पदका लागि गरिएको सिफारिश फिर्ता लिइदिनुहुन विनम्र अनुरोधसहित लेखेको पत्र प्रधानमन्त्री कार्यालयमा विधिवतः दर्ता गराइसकेको छु,’ विज्ञप्तिमा उल्लेख छ ।

प्याकुरेल पाँच दशकभन्दा लामो समयदेखि सामाजिक न्याय र मानव अधिकारको क्षेत्रमा सक्रिय छन् । उनी तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको राजनीति तथा मानव अधिकार विज्ञ सल्लाहकार पनि बनेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर