निकुञ्जमा स्थानीय तितुङलाई हत्या गर्ने सुरक्षाकर्मीलाई सरकारले तत्काल कारबाही गर्नुपर्छः बर्तौला

एमालेका प्रमुख सचेतक महेशकुमार बर्ताैलाले पर्सा वन्यजन्तु आरक्षका सुरक्षाकर्मीले स्थानीय सुकबहादर तितुङलाई गोली हानी हत्या गरेको आरोप लगाउँदै दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले हटौंडा उपमहानगरपालिका–१४ निवासी तितुङलाई सो आरक्ष क्षेत्रमा पसेको भन्दै त्यहाँको सुरक्षाकर्मीले गोली हानेर हत्या गरेको उल्लेख गर्दै त्यस्तो जघन्य अपराधमा संलग्नमाथि तत्काल कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

प्रमुख सचतेक बर्तौलाले पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए । निकुञ्ज, आरक्षण र मध्यवर्ती क्षेत्र आसपासका स्थानीयलाई त्यहाँका प्रशासन, वन्यजन्तुले दुःख दिने गरेको उल्लेख गर्दै उनले त्यस्तो हुन नदिन पनि सरकारलाई ध्यान दिन आग्रह गरे ।

‘सुकबहादुर तितुङ, उनको घर आँगनमा नै जंगल जोडिएको छ । जहा मध्यवर्ती क्षेत्र पर्छ । मध्यवर्ती क्षेत्र जोडिएको त्यो वनभित्र उनी गए केही साथीहरुसहित । पर्सा वन्यजन्तु आरक्षका कर्मचारीहरुले, सुरक्षाकर्मीहरुले, त्यहाँ खटिएका नेपाली सेनाले सुकबहादुर तितुङलगायत त्यहाँका जनताहरुलाई आक्रमण गरे । गोली हानेर सुकबहादुर तितुङलाई हत्या गरे,’ बर्तौलाले भने ।

उनले अगाडि भने, ‘ अस्ति ७ गतेको घटना हो सभामुख महोदय । त्यहाँको स्थानीय नागरिक, जसले त्यहाँको वनजंगल संरक्षण गरे । त्यहाँको जैविक विविधताको संरक्षण गर्न स्थानीय समुदाय लाग्छन् । तर मध्यवर्तीको कारणले गर्दा, आरक्षणको कारणले गर्दा र निकुञ्जको कारणले गर्दा त्यहाँका सुरक्षाकर्मीले सामान्य मानवियतान पनि नराखिकन छातिमा गोली ठोकेर हत्या गर्ने सम्मको ठूलो जघन्य अपराध भयो सम्माननीय सभामुख महोदय । आवश्यक कारबाहीको प्रक्रिया र पीडितलाई क्षतिपूर्तिको बन्दोबस्तका लागि नेपाल सरकारसँग जोडदार माग गर्न चाहन्छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *