गृहमन्त्रीलाई विश्वप्रकाशको प्रश्नः जीबी राईलाई भगाउने नियत हो ?

कांग्रेसका सांसद विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा मुछिएका जीबी राईको लोकेशन पत्ता लागेर पनि पक्राउ किन गरिएन भनी गृहमन्त्रीलाई प्रश्न गरेका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद शर्माले गृहमन्त्री रवि लामिछानेले जीबी राईको लोकेशन पत्ता लागिसकेको अभिव्यक्ति दिएको भन्दै किन पक्राउ नगरिएको हो भनी प्रश्न गरेका हुन् ।

लोकेशन पत्ता लागेको कुरा सार्वजनिक गर्नु अभियुक्त पक्रिने नयाँ शैली वा केटाकेटीपन के हो भनी उनले प्रश्न गरे । शर्माले भगाउने नियतका साथ गृहमन्त्रीको अभिव्यक्ति आएको हो कि भनेर आशंका समेत व्यक्त गरे । गृहमन्त्रीले लोकेशन पत्ता लागेको जानकारी दिएको ४ दिन बितिसकेको भन्दै सरकारले कहिले जीबी राईलाई हाजिर गराउने हो स्पष्ट पार्नुपर्ने उनले माग गरे ।

‘सहकारी ठगीमा फरार भएको व्यावसायिक साथीलाई सहकारी ठगीमै अनुसन्धानको दायरामा रहेका गृहमन्त्रीजीले गिरफ्तार गर्नु छ । त्यसैले लोकेशन पत्ता लागिसक्यो भनेर माइकबाटै फुक्नुको अर्थ के हुन्छ ? अभियुक्त पक्रिने यो नयाँ शैली हो ? केटाकेटीपन हो ? या भगाउने नियत हो ? देशलाई जीबिको लोकेशन चाहिएको होइन । देशलाई जीबी राई चाहिएको हो । अब त्यो लोकेशनमा गेट बनाएर, कार्पेट ओछ्याएर अनि बल्ल द्विपक्षीय वार्ता हुने हो ? यो प्रश्न गर्न चाहन्छु,’ शर्माले भने ।

मलेसियाबाट कसैलाई पक्रिएर नेपाल ल्याउन दुई देशका बीचमा सुपूर्दगी सन्धी नचाहिने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *