काठमाडौं महानगरको नदी सफाइः हिँड्दै छ, पाइला मेट्दै छ !

काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका नदीहरुको सफाइ सुरु गरेको छ । तर, सफाइ गरेका नदीहरुमा फोहोर नियन्त्रणका उपाय नहुँदा ‘हिँड्दै छ, पाइला मेट्दै छ’ भनेझैं फेरि फोहोरहरु देखिन थालेका छन् ।

महानगरको वातावरण विभागअन्तर्गतका ५५ जना कर्मचारीको समूहले रुद्रमती (धोबीखोला), कपनको खहरे र बालाजु क्षेत्रबाट बग्ने भचाखुसी सफाइ गरिसकेको छ । सफाइ समूहले अहिले इच्छुमती (टुकुचा) नदी सफाइ गरिरहेका छन् ।

सफाइ समूहले राजधानीको मध्यभागबाट बग्ने इच्छुमती सफाइमा एक साताबिताइसकेको छ । उक्त समूहले अन्य नदीमाभन्दा इच्छुमतीमा बढी फोहर भेटिएको समूहका ‘सुपरभाइजर’ सागर लुइँटेलले बताए ।

रुद्रमतीमा महानगरपालिकाले यन्त्र लगाएर सफाइ गरिरहेको छ । महानगरपालिकाको समूहले सफाइ गरुञ्जेल सफा देखिएको रुद्रमतीमा अहिले प्लाष्टिकलगायत फोहर थुप्रिन थालेको छ ।

सफाइ गरुञ्जेल आकर्षक देखिएको नदी अहिले फेरि फोहर देखिन थालेको कपनका स्थानीय लक्ष्मण ढकालले बताए । महानगरपालिकाले सफाइ गर्ने तर नदीमा रेखालु नराख्दा फोहोर नियन्त्रण प्रभावकारी नदेखिएको उनले सुनाए ।

महानगरपालिकाले यस क्षेत्रका अन्य नदी पनि यसरी सफाइ गर्ने जनाइएको छ । महानगर क्षेत्रका नदीमा सिधै ढल र फोहर हाल्नाले दुर्गन्धित बनेको छ । नदी किनारबाट हिँड्दा नाक थुनेर हिँड्नुपर्ने अवस्था छ ।

२०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ सुरु गरिए पनि नदी अपेक्षाकृत सफा हुन सकेको छैन । वाग्मती सफाइ महाअभियानले पाँच सय ८० हप्ता पार गरे पनि नदीको अवस्थामा धेरै परिवर्तन आएको छैन । वाग्मतीसँगै उपत्यकाका सबै नदी र चक्रपथ सफाइ सुरु भए पनि नदीका अवस्था उस्तै छन् ।

जनस्तरबाट सुरु भएको महाअभियानलाई स्थानीय सरकारले साथ नदिएको गुनासो सुनिने गरेको छ । गुनासोबीच नै महानगरपालिकाले नदी सफाइ सुरु गरेको हो ।

प्रतिक्रिया

2 thoughts on “काठमाडौं महानगरको नदी सफाइः हिँड्दै छ, पाइला मेट्दै छ !

  1. नगरपालिका ले मात्रै सफा गरेर सफा हुने कुरा हैन नी यो…
    टोल बासी र हामी काठमाडौ नगर पालिका
    भित्र बस्ने सबै ले सफा राख्न सक्नु पर्योनी… नगरपालिका ले दिन भरी सफा गरेर गयो अनि स्थान्य बासी राती फोहोर फाले पछी के फाईदा भयोर हजुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर