आगामी निर्वाचनसम्म कांग्रेस सरकारमा जानुहुँदैनः महामन्त्री थापा

कांग्रेस महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनसम्म कांग्रेस सरकारमा जान नहुने धारणा व्यक्त गरेका छन् । कांग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश (१)ले आज आयोजना गरेको ‘दोस्रो प्रदेशसभा क्षेत्रीय सम्मेलन, २०८१’को उद्घाटन गर्दै उनले कांग्रेस प्रतिपक्षमै बसेर सरकार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

‘पार्टीभित्र प्रेमपूर्ण सम्बन्ध, प्रष्टता र प्रतिबद्धताको आवश्यकता छ, यसलाई पूर्णरुपमा कार्यान्वयन गरेर आगामी निर्वाचनमा कांग्रेसलाई ४० प्रतिशत मतसहित एकल बहुमतको सरकार बनाउने अवस्थामा पु¥याउन सकिन्छ,’ उनले भने ।

महामन्त्री थापाले यही असारभित्र महासमिति बैठक बसेर पार्टीलाई अगाडि बढाउनेबारे बृहत छलफल गरिने बताए । उनले निर्वाचनमा पार्टीको उम्मेदवार चयन गर्ने प्रक्रिया परिवर्तन गर्न जरुरी रहेको उल्लेख गरे । ‘निर्वाचनका लागि उम्मेदवार छान्न पार्टीभित्रका क्रियाशिल सदस्यले भोट गर्ने व्यवस्था बनाउनुपर्छ,’ उनले भने ।
उनले पार्टीभित्र प्रेमपूर्ण सम्बन्ध भएका कारण २०४८ सालमा कांग्रेस एक्लैले बहुमत प्राप्त गरेको स्मरण गरे । पार्टीभित्र गुट, उपगुटको अन्त्य गर्न जरुरी रहेको उनको भनाइ थियो ।

महामन्त्री थापाले केन्द्रमा कांग्रेसको सरकार नभए पनि तीन सय ३२ स्थानीय तहमा कांग्रेसको सरकार भएकाले जनताका लागि काम गर्न आग्रह गरे । ‘कांग्रेस केन्द्रमा प्रतिपक्षमा छ, हामी प्रतिपक्षमै बस्नुपर्छ, सरकारलाई ठीक ठाउँमा उभ्याउने काम कांग्रेसको हो,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर