मेलम्चीको पानी बन्द गर्ने मिति तोकेका छैनौँ : निर्देशक लामिछाने

मनसुन सक्रिय नभएसम्मका लागि मेलम्चीको पानी काठमाडौं पठाइने भएको छ ।  मेलम्ची खानेपानी विकास समितिले पानी धमिलो नहुन्जेल काठमाडौंमा पानी पठाउने काम नरोकिने बताएको हो । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानेले मनसुन सुरू भएसँगै मेलम्ची खोलामा पानीको बहाव बढ्ने र खानेपानी पथान्तरण गर्ने संरचनामा जोखिम हुने सम्भावनालाई मध्यनजर गरेर काठमाडौं पानी पठाइने उनले बताए ।

मेलम्ची खानेपानी आयोजनाको मुख्य हेडबक्समा पानी थिग्र्याउने संरचना नभएको र नदीमा धमिलो पानी आउनेबित्तिकै हेडबक्स बन्द गनुपर्ने अवस्था रहेको उनको भनाइ छ । तत्काल मनसुन सक्रिय नभएको र नदीमा बाढी नआएकाले तत्काल हेडबक्स बन्द नगरिने कार्यकारी निर्देशक लामिछानेले जानकारी दिए । उनले मेलम्ची नदीमा धमिलो पानी नआएसम्म पानी पथान्तरण जारी रहने बताए ।

मेलम्चीको पानी बन्द गर्ने मिति नतोकिएको उनको भनाइ छ । उनले अहिले रहेको मेलम्चीको हेडबक्सबाट काठमाडौंमा १२ महिना पानी सञ्चालन गर्नसक्ने अवस्था नरहेको बताए ।

मेलम्ची नदीमा जबसम्म पानी धमिलो आउँदैन र माथि पहिरो जाँदैन तबसम्म पानी सञ्चालन गरी राख्ने योजना बनायौँ । त्यसको लागि सबै सावधानीका उपायहरु अपनाएर बसेका छौँ । जेठ ३१ गतेपछि पानी धमिलो र बाढी आएर टनेललाई क्षेती पुग्ने अवस्था आयो भने जुनसुकै बेला पनि टनेल बन्द गर्नसक्ने गरी मन्त्रालयबाट स्वीकृत लिएर बसेका छौँ । आज बन्द हुने भने पनि आज पनि टनेलबाट सुन्दरीजलमा पानी पथान्तरण गरिरहेका छौँ । आजसम्मको अवस्था हेर्दा जतिबेला ठूलो पानी पर्छ र बाढी आउँछ त्यतिबेला मात्रै पानी बन्द गछौँ, उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *