कर्णाली प्रदेश सभामा बिहीबार जे देखियो…

कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको चौथो अधिवेशनको १५ औँ बैठक बस्नु पूर्व बिहीबार प्रदेश सभा सदस्यहरू भवन परिसरमा एक आपसमा गफ गरिरहेका थिए । उनीहरूको गफ आर्थिक वर्ष २०८१/०८२ को विनियोजित बजेट र त्यसको सन्तुलन तथा समन्यायिकतामा केन्द्रित थियो ।

उनीहरू गफीइरहेका बेला सभा बैठक प्रारम्भ भएको जनाउ दिने घण्टी बज्यो, सबै प्रदेशसभा सदस्यहरू बैठक कक्षमा प्रवेश गरे । त्यहाँ पुगेपछि मर्यादा पालक महिला प्रहरीले सभामुख र सम्पूर्ण सभा सदस्यलाई सधैँझैँ अभिवादन गरे । राष्ट्रिय गान बज्यो । सबैले आफ्नै स्थानमा उभिएर राष्ट्रिय गान गाए । त्यसपश्चात् सबै आ–आफ्नो स्थानमा बसे । जब सभामुख नन्दा गुरुङले ‘अब बैठकको कारबाही प्रारम्भ हुन्छ’ भनिन् तब प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रदेश सभा सदस्यहरू चुपचाप एकाएक बाहिरिए ।

सभामुख गुरुङ र सत्तापक्षका प्रदेश सभा सदस्य उनीहरू बाहिरिएको टुलुटुलु हेरिरहे । बैठक कक्षमा रहेका सदस्यले केही बेरसम्म मुखामुख गरिरहे । प्रतिपक्षी दलका सदस्य नै नभएपछि बैठक सञ्चालन हुने अवस्था रहेन । त्यसपछि बैठक सभामुखले बैठक स्थगन भएको घोषणा गरिन् ।

सभामुखका अनुसार प्रदेश सभाको अर्को बैठक असार १२ गते बुधबार दिउसो ३ः०० बस्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *