साढे ४ किलो कोकिनसहित ४ विदेशी नागरिक पक्राउ

नेपाल प्रहरीले लागुऔषध कोकिन ४ किलो ५ सय ४ ग्रामसहित ४ जना विदेशी नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

बिहीबार नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले पत्रकार सम्मेलनमार्फत उनीहरुलाई सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै प्रहरी नायब उपरीक्षक एवं लागुऔषध नियन्त्रण ब्युरोका सहायक प्रवक्ता प्रेमबहादुर शाहीले विभिन्न मुलुकबाट नेपाल प्रवेश गरी शंकास्पद गतिविधि गर्ने विदेशी नागरिकहरुको निगरानी गर्दै जाने क्रममा उनीहरुलाई लागुऔषध कोकिनसहित पक्राउ गरिएको बताए ।

उनका अनुसार जेठ २७ गते फ्लाइ दुबईको उडानबाट नेपाल आएका वर्ष ६८ का तान्जिनियन नागरिक डोनाल्ड ज्याक्सन माबुगालाई काठमाडौं १६ ठमेलस्थित एक होटलबाट अवैध लागुऔषध कोकिन १८ क्याप्सुलसहित पक्राउ गरिएको थियो । उनले उक्त प्लास्टिक कोडेट कोकिनका क्याप्सुलहरु इथियोपियाको एडिस अबबा पुगी निलेर काठमाडौं आएको पाइएको शाहीले बताए ।

अनुसन्धानको क्रममा पेटमा थप क्याप्सुल रहेको बताएपछि हालसम्म निजबाट ५९ क्याप्सुलहरु समेत गरी ७७ वटा कोकिनका क्याप्सुलहरुबाट १ केजी २६० ग्राम बरामद गरिएको छ । जेठ ३० मा इमिरेट्सको उडानमार्फत ब्राजिल हुँदै नेपाल आएकी ३३ वर्षकी बोलिभियन नागरिक लाउरा क्रुज टिकोनालाई पक्राउ गरिएको छ ।

उनको झोलामा महिलाले प्रयोग गर्ने १२१ वटा फेन्सी लुगाहरुमा बटनभित्र लुकाएर राखेको अवस्थामा लागुऔषध कोकिन २ किलो सय ग्राम बरामद गरिएको छ । त्यस्तै असार १ मा कतार एयरको उडानबाट नेपाल आएका भेनेजुयलाका ३९ वर्षीय सिमोन एन्टोनियो एल्फोन्जो राडालाई काठमाडौं–२६ स्थित एक होटलबाट शंकास्पद रुपमा बसिरहेको अवस्थामा पक्राउ गरिएको बताए ।

उनको साथबाट कोकिनका ९२ क्याप्सुलबाट १ किलो १९८ ग्राम बरामद गरी अनुसन्धान भइरहेको शाहीले बताए ।

कोकिनका उक्त क्याप्सुलहरु डेलिभरि दिने क्रममा भारत मिजोरम बस्ने वर्ष २७ की भारतीय नागरिक लालरु अतस्ंगीलाई भारतको नयाँ दिल्ली लैजान लागेको अवस्थामा पक्राउ गरिएको हो । बरामद गरिएको लागुऔषध कोकिनको अवैध बजार मूल्य अन्दाजी १५ करोड ७६ लाख हुने प्रहरीले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर