फिल्डिङ र ब्याटिङमा कमजोरी भए, आगामी दिनमा सुधार्छौंः कप्तान पौडेल

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले अमेरिका र वेस्टइण्डिजको मैदान नै बलिङमैत्री रहेकाले ब्याट्सम्यानलाई दोष दिन नमिल्ने बताएका छन् ।

बिहीबार टि–२० विश्वकपमा सहभागी भइ स्वदेश फर्किएसँगै आयोजित पत्रकार सम्मेलनका क्रममा उनले टिममा आत्मविश्वास भए पनि मैदानको स्थितिले जित हात पार्न नसकिएको बताए । उनले अमेरिका र वेस्टइण्डिजको पिचमा कुनै पनि देशले राम्रो रनको स्कोर बनाउन नसकेको बताउँदै नेपालले बलिङमा भने उत्कृष्ट प्रदर्शन गरेको जनाए ।

राम्रो खेल्ने खेलाडीलाई टिममा स्थान सधैँ खुला रहेको उनको भनाइ थियो । फिल्डिङ र ब्याटिङमा नेपाली पक्षबाट केही कमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा सुधार गर्ने प्रतिबद्धता पौडेलले जनाए ।

‘पहिलो गेममा पनि आत्मविश्वास थियो पूरै टिममा । तर मैदानको स्थितिले राम्रो नतिजा आउन सकेन । अमेरिकाको पिच तपाईंले देख्नु नै भएको छ, कसैको राम्रो स्कोर बन्न सकेको थिएन । सम्पूर्ण खेलको कुरा गर्दा बलरले राम्रो गर्नुभयो । सबैको लागि ठाउँ खालि छ, राम्रो खेल्नेले अवसर पाउनुहुन्छ । हामीले बेस्ट १५ खेलाडी लिएर गएका थियौँ । ब्याट्सम्यानलाई च्यालेन्ज थियो । ब्याट्सम्यानलाई मात्रै दोष दिएर हुँदैन । बलरलाई राम्रो ठाउँ थियो, त्यही अनुसारको नतिजा पनि यो विश्वकपमा आइरहेको छ । फिल्डिङ पनि केही कमजोरी थियो, त्यसमा हामी सुधार गरेर जानेछौँ । ब्याटिङमा पनि सुधार गर्न जरुरी छ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर