प्रेम सम्बन्धको तनावले एक सातामै दुई प्रहरीको आत्महत्या

प्रेम सम्बन्धको तनावले एक सातामै दुई जना प्रहरीले आत्महत्या गरेका छन् । काठमाडौंमा बानेश्वरमा खटिएका अजित गोले र सिरहामा कार्यरत करिस्मा सुनारले मृत्यु रोजेका हुन् ।

काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनमा बुधबार मृत फेला परेका प्रहरी जवान अजित गोले प्रेम सम्बन्धका कारण तनावमा रहेको खुलेको छ । प्रहरी स्रोतका अनुसार दोलखा घर भएका गोलेले आफ्नी प्रेमिकासँग इन्गेजमेन्ट गरेका थिए । त्यसपछि आफ्नो रकम खर्चेर दुबई पठाएका थिए ।

तर, पछिल्लो समय प्रेमिका आफूसँग राम्रोसँग नबोलेको भन्दै गोले तनावमा रहेको उनको म्यासेजबाट जानकारी पाएको प्रहरी स्रोतको भनाइ छ । उनले प्रेमिकासँगको कुराकानीमा पटकपटक आत्महत्या गर्ने धम्की दिँदै आएका थिए ।

बुधबार आत्महत्या गर्नुअघि पनि उनले प्रेमिकासँग कुराकानी गरेका थिए । प्रहरीको केन्द्रीय विशेष कार्यदलमा कपनमा उनको दरबन्दी थियो ।

यस्तै, प्रहरी जवान करिस्मा सुनार पनि गत जेठ ३१ मा जिल्ला प्रहरी कार्यालय सिरहाको महिला सेलस्थित बाथरुममा सलले पासो लगाएको अवस्थामा मृत फेला परेकी थिइन् । उनी पनि प्रेम सम्बन्धमा रहेको अनुसन्धानको क्रममा खुलेको छ ।

प्रहरीले आत्महत्या दुरुत्साहनको आरोपमा बाँके बैजनाथ गाउँपालिका–२ का २७ वर्षीय पुष्कर थापा मगरलाई पक्राउ गरेको छ । आत्महत्या दुरुत्साहन मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी निरीक्षक उदयभान द्विवेदीले जानकराी दिए । सुनारको घर पनि बाँकेको खजुरा गाउँपालिकामा पर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर