गिरीबन्धु टि–इस्टेट जग्गा प्रकरणः छानबिन समिति गठन गर्न विश्वप्रकाशको माग

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई गिरीबन्धु टि–इस्टेटको जग्गामा कांग्रेसले कमिसन खाएर बेचेको आरोप प्रमाणित गर्न चुनौती दिएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित लैंगिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले ०५२ सालमा एमालेकै सरकार रहेको, २०६० सालमा सूर्यबहादुर थापाको सरकार रहेको तर कांग्रेसले भूमि सुधार मन्त्रालयको जिम्मा नलिएको र ०७८ सालमा केपी शर्मा ओलीकै सरकार रहेको भन्दै गिरीबन्धु प्रकरणमा कांग्रेसले यदि कुनै जग्गा कमिसन खाएर बेचेको एक टुक्रा माटो भए गिरीबन्धुको फाइल खोल्न र छानबिन समिति बनाउन चेतावनी दिए ।

ओलीले आवेगले प्रश्न उठाएको भन्दै उनले आवेगले उठाएको प्रश्नलाई विवेकले जवाफ दिन कांग्रेस पछि नपर्ने बताए । ‘आज मिडियाका अघि म यो च्याप्टर क्लोज गर्न केपी ओलीजीलाई आग्रह गर्दै के भन्न चाहन्छु भने गिरीबन्धु प्रकरणमा कांग्रेसले यदि कुनै जग्गा कमिसन खाएर बेचेको कतै एक टुक्रा माटो छ भने तपाईं पनि झापाको मान्छे, म पनि झापाको मान्छे, म आग्रह गर्न चाहन्छु, सरकारमा तपाईंहरु हुनुहुन्छ, खोल्नुस् गिरीबन्धुको फाइल र बनाउनुस् छानबिन समिति,’ शर्माले भने ।

महामन्त्री शर्माले आफूले श्रद्धा गर्ने दुई नेतामा ओली र कांग्रेस नेता कृष्णप्रसाद सिटौला रहेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर