सूचनाको हकका अभियानकर्मी बारे मानव अधिकार आयोगले अध्ययन गर्ने

राष्ट्रिय मानव अधिकार आयोगका कार्यवाहक अध्यक्ष डा. सूर्य ढुङ्गेलले सूचनाको हक प्रयोग गर्दा प्रहरी वृत्त बौद्धले पक्राउ गरेका चार जनाका विषयमा आयोगले अनुगमन र अध्ययन गर्ने बताएका छन् ।

सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले आज बुझाएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै उनले सूचनाको अधिकार पनि मानव अधिकारकै अङ्ग भएको र यो हक संविधानमा मौलिक हकका रूपमा सुरक्षित गरिएकाले नेपाली नागरिकले यसको प्रयोग गर्न सक्ने बताए ।

अनियमितता र बेथिति भएको विषयमा सूचना मागेकै कारण स्थानीय सरकार र प्रहरी प्रशासनको मिलेमतोमा सूचनाको हकका अभियानकर्मीलाई पक्राउ गरी झुटा मुद्दा लगाएर फसाउन खोजेको भन्दै महासङ्घका अध्यक्ष उमीद बागचन्द नेतृत्वको समूहले आज आयोग पुगेर कार्यवाहक अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

ध्यानाकर्षण पत्र बुझाउन महासङ्घका सचिवद्वय प्रेमभक्त रेग्मी र पूर्णप्रसाद मिश्र एवं परियोजना अधिकृत सरस्वती पौडेललगायतको समूह आयोगको केन्द्रीय कार्यालय हरिहरभवन पुगेको थियो । प्रहरी वृत्त बौद्धले सोमबार महासङ्घ जिल्ला कार्य समिति काठमाडौँका सदस्य अस्मिता खत्री, महासङ्घ गोकर्णेश्वर नगर समिति संयोजक आदर्श क्षेत्री एवं सूचनाको हकका अभियानकर्मीद्वय राजु सुनार र प्रेमप्रसाद श्रेष्ठलाई सूचना माग गरेकै कारण पक्राउ गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर