भ्रष्टाचार विरोधी अभियन्ता पक्राउमा विवादः प्रहरीले रिसइबी साधेको आरोप

भ्रष्टाचार विरोधी अभियन्ता पक्राउको घटनामा प्रहरीले रिसइबी साधेको आरोप लागेको छ । सूचना मागेको भरमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको आरोप लागेको हो ।

राष्ट्रिय सूचना आयोगले सूचना माग गरेको आधारमा अभियानकर्मी पक्राउ परिएको घटनाको यथार्थ ब्यहोरा पठाउन पत्राचार गरेको छ । आयोगका सचिव होमप्रसाद लुइँटेलले जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई लेखेको पत्रमा घटनाका विषयमा छानबिन गरी, गराई यथार्थ विवरण पेस गर्न भनिएको छ ।

गोकर्णेश्वर नगरपालिकामा सूचना मागेको आधारमा प्रहरी वृत्त बौद्धले चारजना अभियानकर्मी पक्राउ गरेपछि आयोगले जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई पत्राचार गरेको हो । सूचना माग गर्ने अभियानकर्मीलाई प्रहरीले पक्राउ गरी विभिन्न नाममा मुद्दा चलाइएकामा महासंघले देशभरका अभियानकर्मीको ध्यानाकर्षण भएको विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ ।

महासंघका अध्यक्ष उमीद वागचन्द र महासचिव अजयकुमार साहले जारी गरे को विज्ञप्तिमा जिल्ला कार्य समिति काठमाडौँका सदस्य अस्मिता खत्री, महासङ्घ गोकर्णेश्वर नगर समिति संयोजक आदर्श क्षेत्री एवं सूचनाको हकका अभियानकर्मीद्वय राजु सुनार र प्रेम श्रेष्ठलाई सूचना माग गरेर आतङ्कित गरेकाले पक्राउ गरेको भनी प्रचार गरेकामा आपत्ति जनाएका हुन् ।

अनियमितता, भ्रष्टाचार र बेथिति भएका विषयमा सूचना माग गरी सार्वजनिक गर्दा यस्तो आरोपमा पक्राउ गर्नु निन्दनीय रहेको महासंघले जनाएको छ ।
चारजना अभियानकर्मीलाई प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले गोकर्णेश्वर नगरपालिकाका विभिन्न स्थानबाट सोमबार पक्राउ गरेको थियो ।

वृत्तका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले भने जिल्ला अदालत काठमाडौँको पक्राउ पुर्जी प्राप्त भएकाले चारजनालाई पक्राउ गरिएको जानकारी दिए । चारजनालाई जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा पेस गरिएको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर