कूटनीतिक पहल नगर्दा युक्रेनमा ६ नेपाली युद्धबन्दी छुटेनन्

रुसमा भाडाको सैनिकमा भर्ना भई युद्ध लड्दा युक्रेनी सैनिकको कब्जामा परेका ६ जना नेपालीलाई करिब ५ महिनादेखि युक्रेनमा युद्धबन्दी बनाइएको छ । युक्रेनबाट बन्दी भएका नेपालीहरूले आफूहरूलाई छुटाइदिन सरकारसँग हारगुहार गरिरहेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका छन् ।

सरकारले युक्रेनमा युद्धबन्दी बनाएका ६ नेपालीको विषयमा कूटनीतिक पहल राम्रोसँग गर्न नसक्दा उनीहरू छुट्न नसकेका हुन् । रुस–युक्रेन युद्धका क्रममा कब्जामा लिई युद्धबन्दी बनाइएका विभिन्न मुलुकका नागरिकलाई तीन महिनाअघि सार्वजनिक गर्दै युक्रेनले युद्धमा भाग नलिने सर्तमा छाड्ने भनेको थियो । तर, सरकारले युक्रेनको सो सर्तका विषयमा कुनै चासो दिन नसक्दा नेपाली छुट्न सकेनन् ।

युक्रेनमा हाल राजापुर नगरपालिका–१ बर्दियाका विवेक खत्री, काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–६ का सिद्धार्थ ढकाल, मोरङको लेटाङ–२ का विकास राई, दाङका प्रतीक पुन, खैरहनी चितवनका सुजन सुवेदी र गोरखाका ईश्वर लामिछाने बन्दी जीवन बिताइरहेका छन् । प्रतीकलाई युक्रेनी सेनाले पक्राउ गरेको सूचनापछि उनको परिवारका तर्फबाट अवस्था सार्वजनिकका लागि कन्सुलर विभागमार्फत निवेदन दर्ता गराइएको थियो ।

युद्ध क्षेत्रबाट रिपोर्टिङ गरिरहेका युक्रेनका सञ्चारकर्मी आन्द्रे चाप्लिएङ्कले सार्वजनिक गरेको भिडियोनुसार, नेपाली नागरिक पुनलाई दक्षिण पूर्वी युक्रेनको जापोरिजी क्षेत्रबाट सेनाले कब्जामा लिएको थियो । उनी रुसको ७०औं मोटोराइज्ड राइफल रेजिमेन्टका सदस्य रहेको बताइएको थियो ।

सैनिक पोसाकमा रहेका पुनले आफू विद्यार्थी भिसामा तीन महिनाअघि रुसको राजधानी मस्को आएको बताएका थिए । एक एजेन्टले सेनामा भर्ती गर्न लगेको उनले बताएका थिए । रुसी सेनासँग भएको कुनै पनि लिखित सम्झौता’bout आफूलाई थाहा नभएको उनले भिडियोमा बताएका थिए । ‘केही महिनाको तालिमपछि म लडाइँमा गएको थिएँ, म अहिले युक्रेनमा छु,’ भिडियोमा पुनले भनेका छन्, ‘नेपालीलाई रुसमा नआउन अनुरोध गर्छु, रुसी राहदानी, पैसा पाउने आशामा यहाँ नआउन आग्रह गर्छु ।’

नेपालको लगातारको प्रयासपछि मात्र युक्रेन नेपालसँग कूटनीतिक संवाद गर्न सहमत भएको थियो । अहिले नेपाल र युक्रेनबीच कूटनीतिक संवाद भए पनि नेपालीलाई छुटाउन कूटनीतिक पहल अझै पुग्न सकेको छैन । आफ्नो सैन्य हिरासतमा रहेका नेपाली छाड्न युक्रेनले नेपालसँग दीर्घकालीन सम्झौता गर्नुपर्ने प्रस्ताव राखेको छ । तर, नेपाली पक्षले भने आफ्ना नागरिक छुटाउन चासो देखाइरहेको छैन । युक्रेनले खासगरी रुससँगको युद्धमा विदेशी नागरिकलाई भर्ना हुनबाट रोक्न युक्रेनले सम्बन्धित मुलुकलाई पनि अपिल गर्दै आइरहेको छ ।

युक्रेनले नेपालसँग रुसी युद्धमा नेपालीलाई रोक्ने प्रतिबद्धता खोजिरहेको छ । तेस्रो मुलुकका नागरिक यस युद्धमा सामेल नहून् भन्ने उद्देश्यका साथ उनीहरूलाई सार्वजनिक गरेको युक्रेनी सरकारले जनाएको छ । रुसी सेनामा भर्ना नहुन युक्रेनले विदेशी नागरिकहरूलाई सार्वजनिक अपिल गरिरहेको छ । नेपाल र युक्रेनबीच कूटनीति सम्बन्ध स्थापना गर्ने बाहेक कुनै पनि सम्झौता भएको छैन ।

त्यसैले, युक्रेनले नेपालसँग अब दीर्घकालीन सम्झौता गर्न खोजिरहेको कूटनीतिज्ञहरूको भनाइ छ । रुसी सेनामा भर्ना भई युद्धमा गएका नेपालीहरू निर्दोष छन् भन्नेमा युक्रेन सहमत छ, तर नेपाली नागरिकलाई छाड्दा दीर्घकालीन महत्वका सम्झौता गर्ने विषयमा पनि नेपाललाई आग्रह गरिरहेको छ ।यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर