मन्त्रीहरुलाई खल्तीमा राजीनामा लिएर नहिँड्न सांसद झाको आग्रह
जनता समाजवादी पार्टीकी सांसद रञ्जुकुमारी झाले मन्त्रीहरुलाई खल्तीमा राजीनामा लिएर नहिड्न आग्रह गरेकी छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद झाले मन्त्रीले खल्तीमा राजीनामा लिएर हिँडेको अभिव्यक्ति दिएको सुनेर आफूलाई दुःख लागेको बताएकी हुन् । मन्त्री भएर राम्रो काम गर्न नसके राजीनामा दिएर निस्कन आग्रह पनि गरिन् ।
‘गृहमन्त्रीलाई अस्ति एनजीओको खाजा खानुभएन त्यसको लागि म धन्यवाद दिन चाहन्छु । र गृहमन्त्रीले सय दिनको समीक्षा गर्नुभयो, त्यसमा के भन्नुभयो भने राम्रो काम गरेको छैन भने केही नराम्रो काम पनि गरेको छैन । त्यसको लागि पनि म धन्यवाद दिन चाहन्छु । कुनै मन्त्रीले खल्तीमा राजीनामा लिएर हिँडेको सुनेर मलाई दुःख लाग्यो । त्यो राम्रो कुरा होइन । यदि हामी मन्त्रिपरिषद्मा छौँ भने राजीनामा लिएर नहिँडौँ । मन्त्री भएर बसौँ । राम्रो काम गरौँ । काम राम्रो गर्नुछैन भने राजीनामा दिएर निस्कौँ । खल्तीमा लिएर नहिँडौँ । कोही मन्त्री होस् । कुनै पार्टीको मन्त्री होस्,’ उनले भनिन् ।
झाले राजदूतको पदलाई राजनीतिक भागबण्डा गर्नु नहुने बताइन् । उपराष्ट्रपतिको पदलाई राष्ट्रिय सभा अध्यक्षको जिम्मेवारीमा ल्याउन संविधान संशोधन गर्नुपर्ने उनको भनाइ थियो ।
प्रतिक्रिया