गृहमन्त्रीमाथि प्रहरीको चेन अफ कमाण्ड ब्रेक गरेको र सरुवा आतंक फैलाएको आरोप

प्रमुख प्रतिपक्ष दल कांग्रेसका सांसद एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रहरीमा जथाभावी सरुवा आतंक फैल्याएको भन्दै आपत्ति जनाएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन् ।

सांसद केसीले प्रहरी ऐन विपरीत प्रहरीहरुको जथाभावी सरुवा किन गर्नुप¥यो ? भनी गृहमन्त्री लामिछानेलाई प्रश्न पनि गरे । गृह मन्त्रालयको सय दिनमा गृहमन्त्री लामिछानेले सुरक्षा अंगहरुको चेन अफ कमाण्ड नै ब्रेक गर्ने खालको काम गरेको र सुरक्षा निकाय प्रमुखलाई निरीह बनाउने काम गरेको भन्दै केसीले आक्रोश व्यक्त गरे ।

गृहमन्त्रीले सय दिनमा १७ पटक प्रहरी र ६६ जना सिडियोहरुलाई परिवर्तन गरेर सरुवा आतंक फैलाएको उनको आरोप थियो ।

‘सरकारले यो सय दिनको अवधिमा मैले गृह मन्त्रालयको सय दिनको प्रस्तुति सबै पढेँ । दैनिक गर्नुपर्ने कार्यहरुको फेहरिस्त छ । तर नयाँ ढंगले जुन उत्साहका साथ, प्रतिवद्धताका साथ, जनप्रिय नाराका साथ गृहमन्त्रीसहितको नयाँ टिम प्रवेश गरेको थियो । मैले सय दिनको कार्यक्रममा कुनै पनि पाइनँ,’ उनले भने, ‘मैले अघिल्लो वर्ष यही संसदबाट भनेको थिएँ– तपाइँ शिवजीको जटामा भागिरथ अड्किएजस्तो नअड्किनु होला भनेर । अहिले मैले सम्पूर्ण परिस्थिति र परिवेश त्यतैतर्फ उन्मुख भएको देखेको छु । निश्चित विधि र परिधिभित्र रहेर काम गरेको मैले चाहिँ देखेको छैन ।’

उनले अगाडि भने, ‘सय दिनमा १७ चोटि प्रहरीहरु परिवर्तन भए । ३४ सयभन्दा बढी प्रहरीहरु यो तीन महिनाको अवधिमा परिवर्तन भए । ६६ जना सिडियो र सहायक सिडियो परिवर्तन भएका छन् । सय दिनभित्र यत्रो परिवर्तनको आवश्यकता किन ? जब कि प्रहरी नियमावलीमा स्पष्ट रुपमा एक वर्षसम्म विशेष परिस्थिति वा उसको काममा खोट देखिएमात्रै परिवर्तन गर्न सकिन्छ, नभए भने परिवर्तन गर्न नहुन्न भन्ने छ । त्यसरी अहिले सरुवा आतंक, आतंक मात्र होइन, प्रहरी भित्रको चेन अफ कमाण्डलाई लाचार छायाँ बनाउने खालको जुन काम गरिएको छ ।’

सांसद केसीले प्रहरी भित्रको चेन अफ कमाण्डलाई आफ्नो लाचार छायाँ बनाउने काम नगर्न पनि गृहमन्त्री लामिछानेलाई सचेत गराए ।

‘तपाईबाट निश्चित पद्धति र मर्यादा भित्र बसेर लोकलाजबाट बचेर मैले जे गरेको छु, प्रक्रियाबाट हुन्छ भन्ने मलाई चाहिँ विश्वास थियो । तर मैले सय दिन अत्यन्त धैर्यपूर्वक हेरेँ । तर जुन ढंगको सरुवा आतंक, प्रशासनलाई निरिह छायाँ बनाउने र सुरक्षा अंगहरुमा चेन अफ कमाण्ड ब्रेक गर्ने र प्रमुखहरुमाथि नै बक्रदृष्टि राख्ने खालको स्थिति पुगेको छ । त्यसता विषयमा गम्भीर हुन म गृहमन्त्रीजीलाई आग्रह गर्न चाहन्छु । र त्यो सरुवा आतंक किन गर्नुप¥यो ? मैले गृहमन्त्रीजीलाई ध्यानाकर्षण गराउन चाहेँ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर