योजना अलपत्र छोडेर निर्माण कम्पनी सम्पर्कविहीन
म्याग्दीकै ‘लाइफलाइन’ बेनी–दरबाङ सडकको तेस्रो खण्ड (करिब सात किलोमिटर) स्तरोन्नति गरी कालोपत्र गर्ने जिम्मा पाएको निर्माण कम्पनी सम्पर्कविहीन भएपछि योजना अलपत्र परेको छ ।
सदरमुकाम बेनीबजारदेखि पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङसम्म २४ किमी दूरीको यो सडकको पहिलो र दोस्रो खण्डको १७ किमी सडक कालोपत्रे भए पनि बिरुवा–क्याराभान जेभीले जिम्मा लिएको तेस्रो खण्ड भने कालोपत्रे गर्ने सुरसार छैन ।
निर्माण कम्पनी बिरुवा–क्याराभान जेभीका सञ्चालक चन्द्र थकाली सम्पर्कमा नआएपछि पत्र पठाएर ताकेता गरिएको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ ।
विसं २०६३ मा ट्रयाक खुलेको यो सडकको स्तरोन्नति तथा कालोपत्रेको काम तीन खण्डमा विभाजन गरेर अलग–अलग निर्माण कम्पनीले जिम्मा लिएका थिए । त्यसमध्ये दुई वटा खण्ड कालोपत्रे भइसकेका छन् ।
यो सडक कालोपत्रे आयोजनाको ठेक्का बिरुवा–क्याराभान जेभीले विसं २०७६ जेठ ३१ लिएको थियो । निर्माण कम्पनीको अटेरीले पाँच वर्षमा पनि आयोजनाले पूर्णता पाउन नसक्दा यात्रु, यातायात व्यवसायी र स्थानीयवासी सास्ती पाउने गरेका छन् ।
मङ्गला गाउँपालिका–२, रणबाङदेखि मालिकाको केन्द्र दरबाङसम्म सात किमी सडक कालोपत्रे गर्न निर्माण कम्पनी र पूर्वाधार विकास कार्यालय म्याग्दीबीच रु २२ करोड ५७ लाख नौ सय ३२ मा ठेक्का सम्झौता भएको थियो ।
कार्यालयका अनुसार आयोजनाको अहिलेसम्म भौतिक प्रगति करिब ७२ प्रतिशत सम्पन्न भएको छ ।
गत वैशाख पहिलो सातादेखि निर्माण व्यवसायी आयोजनास्थलमा नदेखिएका स्थानीयले बताएका छन् ।
प्रतिक्रिया